१५ भाद्र २०७३, बुधबार

दैलेखको नाउलेकटुवाल गाविसको कडालपानीको १ हजार मिटर गहिरो भू भागमा सौर्य उर्जाबाट दुईवटा मुहानबाट ल्याईएको पानी जम्मा गर्ने ठूलो ट्याँकी निर्माण गरिएको छ । त्यसका लागि नजिकैको घामलाग्ने डाँडामा २६ वटा सोलार पाताहरु राखिएका छन् ।

download

सोलारबाट निस्केको उर्जाले ट्यांकीको पानी १ हजार मिटर माथिको गाउँमा सहजै पुर्याइरहेको छ । त्यसरी तानिएको पानी डाँडामा राखिएका २ वटा ठूला ट्याँकीमा जम्मा गरिन्छ अनि त्यही पानी गाउँभरीका धाराहरुमा वितरण गरिएको छ । हिउँद होस् वा बर्षा सँधै खानेपानीको समस्या बेहोरेका दैलेखको नाउलेकटुवालका स्थानीयहरु पानी तान्ने नयाँ प्रविधि गाउँमा भित्रिएपछि खुशी देखिएका छन् । उकालोमा पानी आउला र शुद्ध पानी पिउँला भन्ने आशै नगरेका स्थानीयलाई सोलारले तानेको शुद्ध पानी गाउँभरिका धारामा वितरण हुन थालेपछि स्थानीयमा खुशीयाली छाएको हो ।

सोलार परियोजनाबाट अहिले डुप्का गैरा, माथि गाउँ, रामा वगाल, वडापोखरा गाउँका स्थानीयहरुले शुद्ध पानी पिउन पाएका छन् । साथै दिनभर पानी बोक्न लाग्ने समय समेत बचत भएको छ । बालबालिकाहरु समयमै विद्यालय जान पाएका छन् । पानी लिनका लागि मात्रै एकदिन लाग्ने यहाँका ९१ घरधुरीका ५ सय ७३ जनालाई पायक पर्ने स्थानहरुमा १७ वटा धारा राखिएको छ ।

जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तरगत हेल्भेटाँस स्वीस इन्टर कोअपरेसन नेपालले नगद सहित २६ लाख बरावरको सामाग्री,दुल्लु नगरपालिका र स्थानीयको समेत आर्थिक सहयोगमा उक्त योजना सम्पन्न भएको हो । योजना निर्माणका लागि स्थानीय सामाजिक सेवा केन्द्र नामक संस्थाले सहजिकरण गरेको थियो । कुल ३६ लाख रुपैयाँमा सम्पन्न भएको आयोजना संचालन सँगै दिगोपना र रेखदेखका लागि पनि स्थानीयहरुले मर्मत संहार कोष समेत निर्माण गरेका छन् ।

LIVE TV