१४ भाद्र २०७३, मंगलवार

वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन क्षेत्रको उपयोगबिहिन जग्गालाई राष्ट्रिय स्वार्थमा प्रयोग गर्न सकिने बताउनुभएको छ ।

होटल व्यवसायी महासङ्घ नेपालको दोस्रो महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले वन मन्त्रालयअन्तर्गत रहेका जग्गा राष्ट्रिय गौरवका योजना र व्यावसायिक प्रतिष्ठानलाई प्रयोग गर्न दिन सकिने बताउनुभएको हो ।

मन्त्री भण्डारीले यसका लागि आफूले मन्त्रालयमा छलफल गरी मन्त्री परिषद्को बैठकबाट पहल गर्ने बताउँदै कानुनी प्रावधानअनुसार ७ प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि होटल सञ्चालन गर्न कहाँँ कति जग्गा उपलब्ध गराउन सकिन्छ सोअनुसार मन्त्रालयले काम अघि बढाउने छ भन्नुभयो ।

होटल व्यवसायमा देखिएका समस्या समाधानका लागि सरकार तयार रहेको भन्दै उहाँले यसका लागि स्पष्ट कार्यदिशा बनाएर महासङ्घ आउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले अहिलेको मुख्य समस्या भनेको संविधान कार्यान्वयन रहेको भन्दै यसको समाधानका लागि नेकपा ९एमाले०ले सङ्कुचित भावना हटाइ संविधान कार्यान्वयनमा सहयोग पु¥याउनुपर्ने बिचार व्यक्तगर्नुभयो । संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन र केन्द्रको संरचनालाई सरकारले महत्वकासाथ हेरिएको छ भन्नुभयो ।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य कुलबहादुर केसी, नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशी, नेकपा एमाले चितवनका सचिव तेजेन्द्रवहादुर खड्का, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजन गौतम, होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भास्करराज काफ्ले र संस्थापक अध्यक्ष माधवप्रसाद नेपाल लगायतले बोल्नुभएको थियो ।

भोलिसम्म चल्ने सो महाधिवेशनमा भाग लिनका लागि देशका ५३ जिल्लाबाट ७०० होटल व्यवसायी चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ । जसअन्तर्गत १४ अञ्चलबाट एक÷एक जना केन्द्रीय सदस्य, खुलातर्फ १०, दलित, समावेशी, आदिवासीलगायतका चार, पाँच विकास क्षेत्रबाट पाँच जना महिला केन्द्रीय सदस्यसमेत छनोट गर्ने छ । रासस

LIVE TV