१४ भाद्र २०७३, मंगलवार

जनकपुरधाम,  भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताउनुभएको छ । “निर्वाचन नहुँदा अस्थिरता निम्तिन्छ, चुनावको विकल्प छैन”–उहाँले भन्नुभयो ।

राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आज आयोजित सभामा उहाँले मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई–मधेसमा फैलिएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन आग्रह गर्नुभयो ।

सो अवसरमा सांसद सुशील श्रेष्ठ, प्रेक्षा मल्ल, मीनबहादुर थिङ, चन्द्रेश्वर यादव, राजाराम बर्तोलालगायतले बोल्नुभएको थियो ।

यसबीच, राप्रपा नेपालले मङ्गलबार १ नं प्रदेशको प्रशिक्षण कार्यक्रम धरानमा राखेको बताइएको छ । रासस

LIVE TV