१० भाद्र २०७३, शुक्रबार

हिन्दू महिलाहरुको महान पर्व तीज नजिकिँदैछ । नेपाली चेलीहरुले प्राथमिकताका साथ मनाउने तीजको आफ्नै धार्मिक मान्यता र सांस्कृतिक परम्परा रहेको छ । तर आधुनिकता संगै तिजका मौलिक परम्परा, जीवनशैली र गीतसंगीतहरु ओझेलमा पर्दै गएका छन् । पछिल्ला दिनहरुमा तीजका गीतसंगीत र शैलीमा विकृति र विसंगतिको बोलबाला बढ्दै गएको अनुभूति हुन थालेको छ ।

aef
तीज पर्व नजिकिँदै गर्दा बजारमा अहिले तीज गीतको चर्चा चुलिएको छ । तीजको अवसरमा बजारमा आउने गीत अब नेपाली लोकसँस्कृति झल्काउने खालका रहेनन् । तीज गीतको नाममा छोटा लुगा लगाउँदै अभिनय गरिएका भिडियो तथा छाडा शब्द प्रयोग भएका गीतले नेपाली सँस्कृतिलाई विकृत बनाईरहेको छ ।

dklzfj
तीज गीतमार्फत चेलीका वेदना आउने दिन हराईसकेजस्तो लाग्छ । खासमा तीज गीतमार्फत नै आफुले बर्षभरी मनमा गुम्साएर राखेको बेदना चेलीले पोख्ने चलन थियो । माईतीको माया, घरको समस्या तथा दाजुभाईको कथालाई तीज गीतबाट बाहिर ल्याईन्थ्यो तर अहिलेको समयमा परिवर्तन भइसकेको छ । सस्तो र अभद्र मायाप्रेमको विषयले ठाउँ पाएको छ । पछिल्लो केहि बर्षमा तीजका गीतमा मौलिकता हराउँदै गएको र छाडापनले गाँज्दै गएको अनुभूत हुन्छ । तीजका गीतगाउने होडबाजीमा एक किसिमको अश्लिल प्रतिष्पर्धा देखिएको सर्वसाधारणहरु बताउँछन् ।
तीज गीतहरु परम्परागत सौन्दर्य गुमाएर अहिले अव्यवस्थित हुन थालेका छन् । ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीत मूल मर्मबाट विमुख र छताछुल्ल भएको देख्दा चित्त दुखेको छ कला चिन्तकहरुको । पछिल्ला दिनहरुमा तीज गीतको विषयवस्तु र शैली भड्कलो र मर्मबाहिर पुगेको वरिष्ठ लोकगायक बमबहादुर कार्कीको बुझाइ छ ।
तीजको मौलिकतालाई नछोडी गाउन गायक कार्की नयाँ पुस्तालाई आग्रह पनि गर्नुहुन्छ । पछि गएर नेपाली सांस्कृतिक परम्परा खल्बलिने र मौलिकता गुम्ने खतरा रहेकोप्रति सबै सचेत हुनुपर्छ । हुनत केही कलाकारले संस्कृतिको मेलो धानेका पनि छन् तर ती पनि ओझेलमा परेका छन् ।
माईती र चेलीको बेदना पोख्ने पर्वको रुपमा मनाईने तीजमा आधुनिकता संगै खानपानको शैली सम्ममा नकारात्मक परिवर्तन आएको देखिन्छ । चाडपर्वको संरक्षण हाम्रो आफ्नोपनको संरक्षण हो तर पछिल्ला दिनमा चाडपर्वलाई व्यापार बनाइएको छ, कमाउने माध्यम बनाइएको छ । तीजको सन्दर्भमा त यसलाई भड्किलो बनाइएको छ र उच्छृङ्खल गीतको बोलबाला बढेको छ । यसरी व्यापारका लागि चाडपर्वलाई विकृत बनाइनु र यिनको महत्व र गरिमालाई निरन्तर खस्काउँदै लगिनु संस्कृति र संस्कार माथिकै अपमान हो । ( सन्दीप परियार)

LIVE TV