९ भाद्र २०७३, बिहीबार

हिन्दु धर्मावलम्बीहरुले आज भगवान श्रीकृष्णको विशेष पूजाआजा गरी कृष्ण जन्माष्टमी मनाउँदै छन् । कृष्णाष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनलगायत मुलुकभरका कृष्ण मन्दिरहरुका श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । आज धर्मावलम्बीहरु दिनभर निराहार बसेर कृष्ण भगवानको पूजाआजा र दर्शन गर्ने चलन छ । यस्तै आज रातभर जाग्राम बसी कृष्णको आराधना र पूजाआजा गर्ने गरिन्छ ।

baby-krishna
भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्म भएको मानिन्छ । भगवान कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाउने वार्षिक पर्व कृष्णाष्टमी । कृष्ण जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजाआराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउँने गर्दछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । जन्माष्टमीका दिन देशभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, भजनकीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णलाई आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्ने देवताको रुपमा पूजिने धार्मिक ग्रन्थहरुमा उल्लेख छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको उपलक्ष्यमा उनको पुजाआरधना र स्तुति ग्रहण गर्ने गरिन्छ । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । यसै उपलक्ष्यमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ ।
‘यदायदा ही धर्मस्य,ग्लानिर्भवति भारत ।
अभ्युत्थानम धर्मस्य,तदात्मनं सृजाम्यहम ’
अर्थात संसारमा धर्म नाश हुँदा अधर्म हावी हुन्छ त्यसबेला धर्मको रक्षाका लागि म स्वयं नयाँ अवतार लिएर यो संसारमा आउने छु – भगवान श्रीकृष्णको यो वाणीको विश्वासमा रहेर उनका अनुयायीहरु कृष्णाष्टमीमा भक्तिभावपूर्वक उनको पूजाआजा गर्ने गर्छन ।

LIVE TV