८ भाद्र २०७३, बुधबार

पेट्रोलियम पदार्थको भण्डारण तथा आपूर्तिका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालले आपूर्ति मन्त्रालयसँग छलफल गर्नुभएको छ ।


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज उहाँले आपूर्तिमन्त्री दीपक बोहरा र आपूर्ति सचिव श्रीधर सापकोटासँग भारतको रक्सौलदेखि अमलेखगञ्जसम्मको पाइप लाइन निर्माणका विषयमा जानकारी लिनुभएको हो ।
आपूर्तिमन्त्री बोहराले भण्डारण क्षमताको विषयमा प्रधानमन्त्रीसमक्ष सबै योजना पेस गरिएको जानकारी दिँदै नेपाल आयल निगमले आगामी दिनमा तीन महिनालाई धान्न सक्ने गरी मौज्दात राख्ने क्षमता विस्तार गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
उहाँका अनुसार प्रत्येक प्रदेशमा ५० हजार किलोलिटर क्षमताको इन्धन भण्डारण स्थल बनाउने, त्यस्तै प्रत्येक प्रदेशमा पाँच हजार टन क्षमताको ग्यासको भण्डारण स्थल बनाउने र काठमाडौँमा पनि ५० हजार किलोलिटरको भण्डारण स्थल बनाउने विषय प्रस्तुत गरिएको थियो ।
पेट्रोलियम पदार्थलाई सहजरुपमा आपूर्ति गर्न रक्सोल–अमलेखगञ्जदेखि ‘पाइप लाइन’का विषयमा विस्तृत छलफल भएको जानकारी दिँदै आपूर्ति सचिव सापकोटाले परियोजनाको प्रगतिबारे मन्त्रालयले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो ।
उहाँका अनुसार परियोजनाको विस्तृत खाका तयार भइरहेको र काम सुरु भएको तीस महिनाभित्र सम्पन्न गरिसक्नुपर्छ । पछिल्लो अध्ययन अनुसार ३७ किलोमिटर पाइप लाइन विछ्याउनुपर्ने हुन्छ । भण्डारण क्षमता बृद्धि गर्न ३३।६ एकड जमिन आवश्यक पर्ने भएकाले त्यसका लागि नेपाल सरकारले जग्गा उपलब्ध गराई दिनुपर्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुराकानी भएको सचिव सापकोटाले जानकारी दिनुभयो ।
विषेश गरेर सातवटै प्रदेशमा इन्धनको भण्डारण गरिनुपर्ने विषयमा प्रधानमन्त्रीले थप अध्ययन गरेर अगाडि बढ्ने बताउनुभएको उहाँले जानकारी दिनुभयोे । रासस

LIVE TV