७ भाद्र २०७३, मंगलवार

 

जिल्ला शिक्षा कार्यालय दाङले जिल्लाका १ सय ३७ सामुदायिक बिद्यालयको खाता रोक्का गरेको छ । कार्यालयले समयमा भौतिक पूर्वाधारको काम सम्पन्न नगर्ने तथा समयमा विद्यार्थी बिबरण नबुझाउने विद्यालयहरुलाई कारवाही स्वरुप खाता रोक्का गरेको हो ।

जिल्ला शिक्षा कार्यालय दाङका अनुसार जिल्लाका २ सय बढी सामुदायिक बिद्यालयले २०७३ असारमा काम सम्पन्न गरिसक्ने गरी विद्यालयको पुर्बाधार बिकासका लागि २०७२ मंसिरमा संम्झौता गरेका थिए । सम्झौता लगत्तै आधा रकम पेश्की लगेर पनि काम सम्पन्न नगर्ने १ सय ९ बिद्यालयको खाता काम सम्पन्न नगरेसम्मका लागि रोक्का गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

समयमा काम सम्पन्न गर्न गरिएको मौखिक निर्देशनलाई अटेर गरेकाले खाता नै रोक्का गरेर काम सम्पन्न गर्न दवाब दिनुपरेको कार्यालयको भनाई छ । काम सम्पन्न गर्न नसकेका बिद्यालयले भने बजारमा निर्माण सामग्रीको अभाव तथा पेट्रोलियम पदार्थको अभावका कारण काममा ढिलाई भएको भन्दै भदौ महिना भित्रै काम सम्पन्न गर्ने गरी काम अघि बढिरहेको बताएका छन् ।

यसैबीच शिक्षा कार्यालयले खाता रोक्का गरेको एक हप्तामै २५ बिद्यालयले काम सम्पन्न गरी रोक्का खाता फुकुवाका लागि कार्यालयमा निबेदन दिएका छन् ।

यस्तै कार्यालयले पटक पटक ताकेता गर्दा पनि समयमा विद्यार्थी बिबरण नबुझाउने २८ वबद्यालयको खाता पनि रोक्का गरिदिएको छ । खाता रोक्का गरेपछि ती बिद्यालयले पनि विद्यार्थी विवरण बुझाउन थालेको सहायक जिल्ला शिक्षा अधिकारी देवनारायण चौधरीले बताउनुभयो ।

LIVE TV