७ भाद्र २०७३, मंगलवार

नेपाल भारत सम्वन्ध सँदियौं पुरानो छ । यी दुई देशबीच सम्वन्धका आफ्नै आयाम छन् । झट्ट हेर्दा नेपाल भारत सम्वन्ध अमूर्त र विशाल देखिन्छ । रोटीदेखि बेटीसम्मको सम्वन्ध रहेको यो दुई देशबीच छिमेकी सम्वन्धमा बेला बेलामा केही उचनिच हुने गरेको छ । नेपाल भारत सम्वन्धका उपलब्धि, सीमा र चुनौती तीन वटै बिशाल छन् । नेपालमा भने हरेक सरकार भारतसंगको सम्वन्ध आफ्नो पालामा सुमधुर रहेको भन्न आतूर रहन्छ । जसले गर्दा दिल्लीमा पानी पर्दा काठमाण्डौंमा छाता ओड्ने पुरानो उखानलाई बेला बेलामा सम्झाउने गर्दछ ।


नयाँ संविधान घोषणा भएपछि भारतले लगाएको नाकाबन्दी र त्यसको असरले नेपालमा भारत विरोधी भावना पैदा भएसंगै भारतसँग सम्बन्ध विग्रिएको हो । नाकाबन्दीकै बेला प्रधानमन्त्रीमा निर्वाचित भएका केपी शर्मा ओली भारत भ्रमणमा गएलगत्तै सम्बन्ध सुध्रिएको बताइएको थियो । त्यससँगै तत्कालीन उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले नेपाल भारतबीचको सम्बन्ध सुधार भएको भनेर पटकपटक उद्घोष समेत भयो । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूत बनेर भारत भ्रमणमा गएका उपप्रधानमन्त्री बिमलेन्द्र निधिले सोमबार भारतबाट फर्किए लगत्तै सम्बन्ध सुमधुर भएको जिकिर गर्नुभयो । तर, तत्कालीन उपप्रधानमन्त्री कमल थापाले केपी ओली भारत भ्रमणमा गएलगत्तै सम्बन्ध सुदृढ भएको र अहिले भारतसंगको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो । दुई फरक फरक समयका उपप्रधानमन्त्रीहरुको दावीले भारतसंगको सम्वन्ध सुधार्न हरेक सरकार आतुर छ भन्ने प्रष्ट मात्र हुदैन हरेक सरकार आफ्नै पालामा मात्र भारतसंग विशेष सम्वन्ध थियो भन्ने जताउन चाहान्छ भन्ने पनि पुष्टि भएको छ ।
दुई उपप्रधानमन्त्रीका भनाईलाई आधार मान्ने हो भने दुई देशबीचको तिक्तता अहिले आएर सामान्य भएको हो या पहिले नै सामान्य थियो भन्ने कुरामा दुविधा उत्पन्न हुन्छ । यो दुविधाले सरकारमा पुगेपछि भारत भक्त हुने नेपाली राजनीतिज्ञहरुको मनोदशालाई पनि दर्शाउँछ

LIVE TV