७ भाद्र २०७३, मंगलवार

सर्वसाधारणको बत्तिको लाइन काट्ने निर्देशन दिएसंगै सर्वत्र विरोध र आलोचना सुन्न बाध्य भएका उर्जामन्त्री जनार्दन शर्माले आफुलाई सच्याउने प्रयास गर्नुभएको छ । मन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले सर्वसाधारणको बत्तिको लाइन काट्न आफुले निर्देशन नदिएको बताउनु भएको हो ।


उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणको अटेर गरेर बसेका दश ठुला ग्राहकको मात्र बत्ति काट्न आफुले निर्देशन दिएको प्रष्ट पार्नु भयो । उहाँले पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको वत्तीको लाइन काट्नु भनेर आफुले नभनेको स्पष्ट पार्नुभयो । उहाँले कार्यकारी निर्देशकको नेतृत्वमा ट्रेड युनियनका पनि नेताहरु गएर सबैभन्दा ठूलाबाट लाइन काट्नु भनेको र यसबाट साना ग्राहकसम्म पनि सकारात्मक सन्देश जाने आफुले विश्वास लिएको बताउनुभयो । उहाँले सरकारले तिर्नुपर्ने सवालमा ताकेता गर्नु र ठूला उपभोक्ताको लाइन काट्नु मात्र भनेको बताउनुभयो ।
उर्जामन्त्रीको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले अस्ति आइतबार पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएको महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको थियो । ८९ वर्षकी बृद्धाको निवासमा लाइन काटिएको विषयमा सर्वत्र विरोध भएपछि प्राधिकरणले हिजै सोमबार लाइन जोडिदिएको छ । महेन्द्र मञ्जिलबाट तिर्न बाँकी रहेको रकम संस्कृति तथा पर्यटन मन्त्रालयले भुक्तानी दिने खबर आएपछि प्राधिकरणले लाइन जडान गरेको थियो ।

LIVE TV