५ भाद्र २०७३, आईतवार

प्रकाशित गर्नुअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको अनुमति नलिएको भन्दै कार्हबाही21082016093934No_Easy_Day-1000x0अल कायदा प्रमुख ओसामा बिन लादेनमाथि भएको कारबाहीलाई मुख्य विषय बनाएर अमेरिकी नेभी सिलका पूर्वसदस्य म्याट बिस्सोनेटले सन् २०१२ मा एक पुस्तक प्रकाशित गरे, ‘नो इजी डे’ । मार्क ओवेन नामक छद्म नाममा लेखिएको उक्त पुस्तक चर्चित पनि भयो । तर प्रकाशित गर्नुअघि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको अनुमति नलिएकोमा उनले ठूलो मूल्य चुकाउनुपरेको छ ।

म्याटले पुस्तकबाट हुने ७० लाख डलरको कमाइ पेन्टागनलाई दिनुपर्ने भएको छ भने पुस्तक बिक्रीबाट हुने नाफा र रोयल्टी पनि गुमाउनुपर्नेछ । यसको बदलामा पेन्टागनले उनीविरुद्ध कुनै पनि किसिमको कारबाही गर्ने छैन । अदालतले उनलाई पुस्तक प्रकाशन गर्नुअघि पुनरावलोकनका लागि सम्बन्धित अधिकारीसमक्ष प्रस्तुत नगरेकोमा औपचारिक रूपमा माफी माग्न पनि आदेश दिएको छ ।

म्याटले नेभी सिलमा सेवाका दौरान गोपनीयताको सम्झौतामा हस्ताक्षर गरेका थिए । अमेरिकाको सैन्य नियमअनुसार कुनै पनि सैन्य अभियानमा सामेल सैनिक या कर्मचारीले सरकारको अनुमतिबिना अभियानसँग सम्बन्धित कुनै पनि सूचना सार्वजनिक गर्ने अधिकार हुँदैन । पाकिस्तानको एबोटाबादमा सन् २०११ को २ मेका दिन अमेरिकी नेभी सिलको कारबाहीमा तालिवान प्रमुख लादेनको मृत्यु भएको थियो ।

सोही टिममा म्याट पनि थिए । म्याटले पुस्तक प्रकाशित गर्नुअघि स्वीकृतिका लागि पेन्टागन नपठाइएको स्वीकार गरेका छन् ।म्याटले आफ्नो वकिलको सल्लाहअनुसार नै सबै काम गरेको उल्लेख गर्दै भनेका छन्, ‘तर अहिले थाहा पाएँ, उनको सल्लाह गलत रहेछ, यो गम्भीर गल्ती हो, म सबैलाई यस्तो गल्ती नदोहोर्‍याउन सल्लाह दिन्छु ।’

उनले आफ्नो क्षमायाचनामा भनेका छन्, ‘पूर्वसहकर्मीहरूमाथि संकट निम्त्याउने मेरो नियत नभए पनि मैले पुस्तक पुनरावलोकनका लागि प्रस्तुत नगर्दा उनीहरूका परिवारमाथि ठूलो खतरा निम्तन सक्छ, त्यसका लागि म क्षमा माग्छु ।’

  • न्युयोर्क (बीबीसी)  

LIVE TV