४ भाद्र २०७३, शनिबार

रानीपोखरीको मध्यभागमा अवस्थित छ वालगोपालेश्वरको मन्दिर । तिहारको भाइटीकाको दिन मात्र खुल्ला रहने उक्त मन्दिरको दर्शन गर्न सर्वसाधारणले एक वर्षसम्म कुर्नुपर्छ । विनाशकारी भुकम्पले क्षति पुर्याएपछि गत वर्ष भने यो मन्दिर भाइटिकामा पनि खुलेको थिएन । तर यो वर्ष भने यमपञ्चकको भाइटिका अगावै यमलेश्वर समेत भनिने यो मन्दिरको पुनर्निर्माण गरिसक्ने गरि सरकारले काम अगाडि वढाएको छ ।


भाइटिका दिन दिदीवहिनी नहुने दाजुभाइ तथा दाजुभाइ नहुने दिदिवहिनी यो मन्दिरमा जाने गर्दछन् । गत वर्षको वैशाख १२ मा गएको विनाशकारी भुकम्पले पूर्णरुपले क्षति पुगेको कारण गत वर्षको भाइटिकामा समेत यो मन्दिर खुल्न सकेन । भूकम्पले गर्दा एकदमै जीर्ण अवस्थामा रहेको र पुनर्निर्माणको काम समेत शुरु नभइसकोले मन्दिर नखुल्दा हजारौं सर्वसाधारण मन्दिरको दर्शन गर्नबाट बञ्चित भए । तर यसपटक भने सर्वसाधारण जनतालाई निराश नपार्ने रणनीति अपनाई सरकारले काम अघि वढाएको छ । अहिले रानीपोखरीको पुनर्निमाणको काम काठमाण्डौ महानगरपालिकाले गरिरहेको छ । उसले तिहार अगाडि नै पुननिर्माणको काम सम्पन्न गर्न मजदुरहरुलाई निर्देशन समेत दिइसकेको छ ।
अहिले रानीपोखरीमा अवस्थित वालगोपालेश्वर मन्दिरसँगै रानीपोखरीलाई नै अत्याधुनिक वनाउने गरी काम भईरहेको छ । रानीपोखरीमा रहेका माछाहरुलाई काठमाण्डौका विभिन्न पोखरीमा लगेर राखिएको छ । तर अझै पोखरीमा प्रशस्तै माछा रहेकोले त्यसलाई छिट्टै अन्य पोखरीहरुमा सारिने पुनर्निर्माण कार्यमा क्रियाशील मजदुरहरु वताउँछन । भूकम्प गएको धेरै लामो समयपछि मात्रै रानीपोखरीको पुनर्निमाणको काम शुरु भएको हो । तर आशा गरौँ रानीपोखरीको पुनर्निर्माणको काममा कुनै प्राविधिक समस्या हुने छैन र सर्वसाधारण भक्तजनहरुले महानगरपालिकाको योजना अनुसार नै यसवर्षको यमपञ्चकको भाइटिकाका दिन यमलेश्वर मन्दिरको दर्शन गर्न पाउँनेछन् ।

LIVE TV