४ भाद्र २०७३, शनिबार

निमार्ण भएको ४० बर्ष सम्म पर्वत जिल्ला विकास समितीको भवन पुनर्निमार्ण हुन नसक्दा जिर्ण बन्दै गएको छ । जिल्लामा सरुवा भएर आउने कुनै पनि स्थानीय विकास अधिकारीहरुले भवन निमार्णमा चासो नदिंदा जिविसका कर्मचारी र सेवाग्राही जोखिम मोलेर काम गर्न बाध्य छन् ।


४० वर्ष अघि निर्माण गरिएको जिविस भवन जीर्ण भई भत्किने अबस्थामा पुगेको हो । दैनिक सयौं सेवाग्राहीले सेवा लिने भवन जिर्ण बन्दा दुर्घटनाको जोखिम समेत बढेको छ ।
समय–समयमा सरुवा भएर आउने स्थानीय विकास अधिकारीले लाखौ रुपैया खर्च गरेर आफ्नो कार्यकक्ष मर्मत गर्देै आएपनि नयाँ भवन निमार्णमा भने हालसम्म कसैले चासो नदिदाँ कर्मचारी र सेवाग्राही जोखिम मोलेर काम गर्न बाध्य भएका हुन् । ठूलो पानी परेको बेला छानाबाट चुहिने र भवन जुनसुकै अबस्थामा पनि भत्किने खतरामा रहेको कर्मचारीहरु बताउँछन् ।
झण्डै दुई साताअघि लगातार वर्षाका कारण जिल्ला विकास समितिकै भवनमा रहेको राष्ट्रिय अनुसन्धान कार्यालयको कोठा भासिएपछि कर्मचारीहरु थप त्रसित भएका छन् । यता निमित्त स्थानीय विकास अधिकारी भने जीर्ण भवनमा दुर्घटनाको खतरा रहेपनि नयाँ भवन बनाउन बजेट नभएको बताउँनुहुन्छ । बिगत ३÷४ बर्ष अघि नै स्थानीय विकास मन्त्रालय र शान्ति मन्त्रालयमा नयाँ भवनका लागि अनुरोध गरिरहेको भएपनि मन्त्रालयबाट कुनै जवाफ नआएको र स्थानीय स्रोतबाट भवन निर्माण गर्नसक्ने अवस्था नभएको उहाँको भनाई छ ।
पुरै भवन भत्काएर नयाँ निर्माण गर्न कम्तीमा पनि १० करोड लाग्ने अनुमान छ ।

LIVE TV