४ भाद्र २०७३, शनिबार

जर्मनीले रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ । फाइनलमा स्वीडेनलाई २–१ ले हराएउँदै जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।
जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाएकी थिइन् । स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन् । स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन् । स्वीडेनले रजत पदकमा चित्त बुझाएको छ । जर्मनी क्यानडालाई हराएर फाइनलमा आएको थियो ।
यसैबीच, रियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा क्यानडाले कास्य पदक जितेको छ । गएराति भएको खेलमा आयोजक ब्राजिललाई २–१ ले हराएर क्यानडाले कास्य पदक जितेको हो । क्यानडाको जितमा डिएन रोज र क्रिष्टिन सिनक्लेएरले एक एक गोल गरेका हुन् । २५ औं मिनेटमा गोल गर्दै रोजले क्यानडालाई सुरुवाति अग्रता दिलाए । ५२ औं मिनेटमा क्रिष्टिनले क्यानडाको अग्रता दोब्बर पारिन् । ब्राजिलका लागि ७९ मिनेटमा बिएट्रिजले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । क्यानडाले सन् २०१२ को लण्डन ओलम्पिकमा पनि महिला फुटबलमा कास्य पदक जितेको थियो । त्यसबेला क्यानडाले फ्रान्सलाई १–० ले हराएको थियो ।

LIVE TV