३ भाद्र २०७३, शुक्रबार

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले बाढीपीडित र सुकुम्बासी बस्तीको समस्या समाधान गर्न आफू लागिपर्ने बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र चितवनको माडीमा आज स्थानीयले गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

चितवनको माडी बाँदरझुला, बरुवा तथा वसन्तपुर क्षेत्रमा बाढीपीडित र सुकुम्बासीका सयाँै परिवार रहेको भन्दै उहाँले समस्या समाधानमा आफूले पहल गर्ने आश्वासनसमेत दिनुभयो । सर्वोच्च अदालतमा सुकुम्बासी समस्या समाधान आयोगको मुद्दा विचाराधीन अवस्थामा रहेकाले काम गर्न केही कठिन भएको भन्दै उहाँले यसतर्फ आफू गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।

माडीमा आज भएको कार्यकर्ता भेटघाटका क्रममा मन्त्री पाण्डेलाई सार्वजनिक जग्गामा बस्दै आएका बाढीपीडित तथा सुकुम्बासीले बस्ती व्यवस्थापनको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । पीडित परिवारले आफूहरुलाई उचित व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । पीडित श्रीमाया भण्डारीले जग्गा कहीँ नभएपछि सार्वजनिक जग्गामा बस्नुपरेको दुखेसो पोख्नुभयो ।
मन्त्री पाण्डेले विस्तृत अध्ययनपश्चात् आफूले स्थानीयका माग सम्बोधन गर्ने आश्वासन दिनुभयो ।

सो क्रममा उहाँले नगरस्तरीय फुटबल प्रतियोगिताका लागि रु एक लाख एक हजार सहयोग गर्ने घोषणासमेत गर्नुभयो । रासस

LIVE TV