१ भाद्र २०७३, बुधबार

उपप्रधान एवं अर्थमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लीबीच बेइजिङमा भेटवार्ता:13939383_1217593284951962_6618800057421705547_n नेपालका प्रधानमन्त्रीको विशेष दूतको हैसियतमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज चीनका प्रधानमन्त्री ली ख छ्याङसँग भेटवार्ता गरेका छन्।सौहार्द्रपूर्ण भेटवार्तामा मन्त्री महराले नेपालको राजनीतिक घटनाक्रम, नेपाल चीन सम्बन्ध, आफ्नो भ्रमणको उद्देश्य आदिबारे प्रकाश पारेका थिए।

प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनबीचमा भएका सम्झौता समझदारीलाई कार्यान्वनमा लैजानका लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने प्रतिक्रिया दिए। साथै उनले नेपालको सामाजिक आर्थिक विकासमा चीनको तर्फबाट निरन्तर सहयोग जारी रहने पनि प्रतिवद्धता जनाए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूत मन्त्री महराले चीनका प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङको नेपाल भ्रमणको वातावरण, वर्तमान सरकार परिवर्तनको उद्देश्य तथा पूर्ववर्ती सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयनमा कुनै कमजोरी नराख्ने जस्ता वाक्यांशलाई दोहोर्‍याए। मंगलबार चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँगको भेटवार्तामा पनि महराले यिनै कुरालाई प्रष्ट्याउने प्रयास गरेका थिए।

‘नेपालको संविधानसभाद्वारा जारी भएको नयाँ संविधानअनुसार शान्तिपूर्ण रुपमा सरकार परिवर्तन हुनु संवैधानिक सौन्दर्यको रुपमा मैले लिएको छु’, मन्त्री महराले नेपालमा सरकार परिवर्तनको उद्देश्यबारेमा जानकारी गराएपछि प्रधानमन्त्री लीले भने, ‘आगामी दिनमा नेपालका दलहरु मिलेर संविधानलाई कार्यान्वयनको दिशामा अग्रसर हुनेछन् भन्ने मेरो विश्वास छ।’

प्रधानमन्त्री लीसँगको भेटमा पनि सहभागि भएका बेइजिङ्स्थित नेपाली दूतावासका चार्ज डी अफेयर्स अर्थात् चीनका लागि कार्यवाहक नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले भेटमा मन्त्री महराले नेपालमा सरकार परिवर्तनको ‌कारण, चीनसँग भएका सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने जस्ता विषयमा नेपालको तर्फबाट प्रतिवद्धता जनाएका थिए। साथै चिनियाँ राष्ट्रपति सी जिन फिङको नेपाल भ्रमणको सन्दर्भमा प्रधानमन्त्री लीले कूटनीतिक तहमा समन्वय गर्दै जानुपर्ने प्रतिक्रिया दिएको घिमिरेले बताए।

14067492_1217590491618908_9024820548460711894_nचीनले मुख्यतः आफूसँग भए गरेका सम्झौताको कार्यान्वयन र नेपालमा जारी नयाँ संविधान कार्यान्वयनलाई संकेत गरेर नेपालको स्थिरतामा जोड दिएको घिमिरेको बुझाइ थियो। मन्त्री महराले नयाँ संविधानलाई कार्यान्वयन गर्ने दिशमा सरकार र नेपालका दलहरु कटिवद्ध रहेको सुनाए। यसअघि मंगलबार परराष्ट्रमन्त्रालयमा भएको भेटमा महरा र चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले नेपाल र चीनबीचको सम्बन्धको आधार नै सिङ्गो नेपालको एक चीन नीति प्रतिको अडानको प्रशंसा गरेका थिए। त्यस क्रममा उनले नेपालको आन्तरिक राजनीतिक मामिला जे जसरी परिवर्तन भएपनि चीन-नेपाल मित्रतामा कुनै परिवर्तन नआउने ढाडस दिए।

पूर्ववर्ती सरकारले चीनसँग गरेका विभिन्न सहयोग सम्झौतालाई नयाँ सरकारले कार्यान्वयनको दिशामा अघि बढाउने अपेक्षा वाङको थियो। नेपाल चीनको युगौँदेखिको घनिष्ट छिमेकी भएकोले सरकार परिवर्तनजस्तो आन्तरिक मामिलाले सम्बन्धमा कुनै उतार चढाव नआउने बताएपनि राजनीतिक स्थिरता र दलीय एकतामा जोड दिएका थिए। चीन भ्रमणका दौरान महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आआफ्ना समकक्षीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरे।

LIVE TV