१ भाद्र २०७३, बुधबार

‘म आत्महत्या गर्न गइरहेको छु, किनभने मैले कम्पनीले तोकिदिएको बिक्री लक्ष्य भेट्न सकिरहेको छैन र कम्पनीले मलाई दबाव दिइरहेको छ।’

आत्महत्या गरेका आफ्ना पिताको तस्विर हेर्दै छोरी
आत्महत्या गरेका आफ्ना पिताको तस्विर हेर्दै छोरी

पत्नी र दुई कलिला बच्चालाई छोडेर भारतमा एबोट ल्याबरोटरिजका लागि काम गर्ने एक २७ वर्षीय सेल्सम्यान मोटरसाइकल चढेर रेलको लिकमा पुगे र रेलअगाडि हामफाले। ती व्यक्तिको खल्तीमा नीलो मसीले हिन्दी र अंग्रेजी मिश्रित भाषामा लेखिएको सुसाइड नोट भेटियो, जसमा लेखिएको थियो, ‘म आत्महत्या गर्न गइरहेको छु, किनभने मैले कम्पनीले तोकिदिएको बिक्री लक्ष्य भेट्न सकिरहेको छैन र कम्पनीले मलाई दबाव दिइरहेको छ।’

अघिल्लो महिना आशिष अवस्थीको मृत्युले भारत तरंगित भयो। एबोट औषधि कम्पनीका २५० एमआर (बजार प्रतिनिधि) हरुले एक दिनका लागि काम रोके र कम्पनीको आक्रामक बिक्री नीतिको विरोध गरे। कम्पनीहरुले बिरामीको स्वास्थ्यमा सम्झौता गरेको भन्दै औषधी बिक्रेताको राष्ट्रिय युनियनले नयाँ सरकारी नियम लागु गर्न आह्वान गर्यो।न्युयोर्क टाइम्सको ६ महिना लामो अनुसन्धानमा एबोट कम्पनीका केही म्यानेजरहरुले कर्मचारीहरुलाई, सरकारी कानुन, व्यवसायिक मान्यता र कम्पनीकै नीतिभन्दा बाहिर गएर भए पनि जुनसुकै मूल्यमा बिक्री बढाउन निर्देशन दिइने गरेको कुरा पत्ता लागेको छ।

भारतमा एबोटजस्तो विश्वव्यापी कम्पनीमा सेल्सम्यानको जागिरलाई निकै राम्रो मानिन्छ। तर त्यस्ता काम कर्मचारीका लागि अचाक्ली दबावपूर्ण पनि हुनसक्दछन्। यस्ता केही आम अभ्यासमध्ये एकमा म्यानेजरले एमआरहरुलाई स्वास्थ्य शिविर आयोजना गर्न लगाउँछन्, जहाँ एमआरहरुले डाक्टरको व्यापार बिस्तार गर्न बिरामीमा अनेकौँ रोगको परीक्षण गर्दछन्। त्यसपछि डाक्टरहरुले एबोट कम्पनीका औषधि सिफारिस गर्दछन्। यस्ता शिविरहरु डाक्टरको अफिसमा वा सामुदायिक कार्यक्रमहरुमा आयोजना गर्ने गर्ने गरिन्छ।

बिक्रेताले बिरामीको परीक्षण गर्दा उनीहरुलाई बिना अनुमतिपत्र चिकित्सकीय प्रयोग गरेको आपराधिक आरोप लाग्नसक्ने कुरा ‘मेडिकल काउन्सिल अफ इन्डिया’का अध्यक्ष डा. जयश्री मेहता बताउँछन्। उनका अनुसार भारतीय चिकित्सा नियमले फाइदाका लागि गरिने यस्ता कार्यहरुलाई प्रतिबन्धित गरेको छ।

एबोट इन्डियाका पब्लिक अफेयर डाइरेक्टर आनन्द कडकोल कम्पनीको व्यापारिक नीति भारतको कानुनसँग मेल खाने खालको रहेको बताउँछन्। स्वास्थ्य शिविरहरुलाई उनी ‘रोगसम्बन्धी जनचेतना जगाउने शैक्षिक कार्यक्रम’ भन्दछन्। एबोटको नीतिले एबोटको औषधि सिफारिस गरिदिने सम्झौतामा यस्ता शिविर आयोजना गर्न अनुमति नदिने पनि उनी बताउँछन्। तर कर्मचारीमाथि टिप्पणी गर्न कम्पनीले अस्वीकार गर्यो। कडकोलले कम्पनी त्यस्ता आरोपहरुप्रति सचेत रहेको र त्यसलाई सम्बोधन पनि गरिएको बताए।

तर उत्तरी भारतका बिक्रेता समूहका पूर्व म्यानेजरहुदाँ दिइने एउटा मल्टिभिटामिनको बिक्री बढाउन बिरामीहरुमा अधिक परीक्षण गर्ने दबावका बीच कामबाट बर्खास्त गरिएको विवेक गुप्ता बताउँछन्। राष्ट्रिय नियम र कम्पनीकै नीतिविपरीतको सो काम गर्न नमान्दा आफूलाई कामबाट निकालिएको उनको भनाइ छ। ३७ वर्षका म्यानेजर मर्ज भएको एक कम्पनीबाट एबोट कम्पनीमा आएका थिए।

सुरुबाटै एमआरहरुबाट हुने बिरामीको परीक्षणलगायतका विषयमा गुप्ताको आफ्ना म्यानेजरसँग मनमुटाव सुरु भयो। सो मनमुटावपछि, हाकिमहरुले उनलाई मध्यरातमा तथा विदाका दिहरुमा फोन गर्ने र म्यासेज पठाउने गर्न थाले। जसका कारण उनलाई डिप्रेसन भयो। त्यस्तै एक फोनकलपछि उनले आफ्नी पत्नीले भर्खरै तताएर छोडेको स्त्री समात्न पुगे। गुप्ताका अनुसार उनले आत्महत्याको बारेमा पनि सोचे। पछि उनी एक मनोचिकित्सककहाँ गए। त्यसपछि उनका हाकिमले उनलाई १५ सय माइल टाढा चेन्नइ सरुवा गर्न खोजे, जसलाई उनले अस्वीकार गरिदिए।

अगस्ट, २०१५ मा गुप्ताले एबोटका भारतका उच्चाधिकारीहरुलाई स्वास्थ्य शिविरमा एमआरहरुबाट गरिने परीक्षणको बारेमा प्रमाणसहित उजुरी गरे। उल्टै उनलाई बर्खास्त गरियो। अहिले उनी एक अस्पतालमा कार्यरत छन्।

मध्य भारतमा सेल्स एजेन्ट रहेका २६ वर्षीय धीरेन्द्र यादव ‘अनैतिक तरिकाबाट काम गर्ने अत्याधिक दबाव’का बीच आफूले २०१३ मा राजिनामा दिएको बताउँछन्। यादवका अनुसार उनका म्यानेजर, जो पछि गएर आत्महत्या गरेका आशिष अवस्थीको पनि म्यानेजर बनेका थिए, ले उनीहरुको समूहको बिक्री लक्ष्य पूरा गर्नका लागि झण्डै १५ हजार भारतीय रुपैँयाको औषधि आफूलाई किन्न लगाएका थिए। सो रकम सामान्यतः भारतीय एमआरहरुको मासिक तलबको आधाभन्दा बढी हो।

आशिष अवस्थीको परिवार
आशिष अवस्थीको परिवार

उत्तरी भारतमा ६ जना एमआरहरुका म्यानेजर राजीव खन्ना पनि आफूलाई अनैतिक कार्यबारे एबोटको कार्यलयमा गुनासो गरेको कारण कामबाट निकालिएको बताउँछन्। खन्ना लखनऊमा सरकारी छुटसहितको दरमा औषधि बेचेको विषयमा गुनासो गरेपछि आफूलाई बर्खास्त गरिएको थियो। अहिले ४८ वर्षका खन्नाले सो कम्पनीका लागि २५ वर्ष काम गरिसकेका थिए।

एमआरहरुको सबैभन्दा ठूलो युनियन फेडेरेसन अफ मेडिकल एन्ड सेल्स रिप्रेजेन्टेटिभ्स् एसोसियसन अफ इन्डियाका अनुसार भारतमा बढ्दो प्रतिस्पर्धासँगै भ्रष्टाचारले तीव्रता पाएको छ। त्यसैले उसले नयाँ नियम लागु गर्न माग गरेको छ।युनियनका सचिव तथा एक औषधि बिक्रेता सञ्जीव खन्डेलवाल भारतमा अनैतिक व्यापारिक अभ्यास हुनु दैनिकी भएको बताउँछन्।

भारतको वार्षिक औषधि बिक्री १६ अर्ब डलरको रहेको बताइन्छ। युरोप र अमेरिकाको भन्दा सो बजार सानो भए पनि वार्षिक १० प्रतिशतका दरले वृद्धि भइरहेको हुनाले आकर्षक मानिन्छ। त्यसैगरी भारतीय औषधि बजार असामान्य रुपले प्रतिस्पर्धात्मक छ। एक दशकअघिसम्म भारतमा औषधिको पेटेन्ट अधिकारलाई बेवास्ता गरिन्थ्यो। अहिले पेटेन्ट अधिकारको सम्मान त गरिन्छ तर अनगिन्ती भ्रामक ब्रान्ड र मूल्यमा चरम प्रतिस्पर्धाका रहेको पाइन्छ। सन् २०११ मा विशेषज्ञहरुको एक सरकारी प्रतिवेदनअनुसार ‘बजारमा अनावश्यक, अमिल्दो र हानीकारक दबाइहरुको बाढी छ, जसले स्रोतहरुको दुरुपयोग तथा स्वास्थ्यमा सम्झौता गर्दछ।’

व्यापारको यो लडाइँमा अवस्थीजस्ता कर्मचारीहरु औषधि कम्पनीका पैदल सिपाही हुन्। एक इमेलमा एबोटका भारतीय प्रवक्ता कडकोलले भने, ‘२०१५ मा उत्कृष्ट कार्य गर्नेमध्येका एक आशिष अवस्थीको दुःखद निधन भएको थाहा पाउँदा हामी अत्यन्त दुःखी छौँ।’

पर्फेक्ट लाइफ
एबोटजस्ता बहुराष्ट्रिय कम्पनीहरु भारतमा बिस्तार हुदाँ तिनीहरुले बढ्दो मध्यमवर्गका लागि निकै आकर्षक चीज लिएर आउँछन्, त्यो हो जागिर। त्यस्ता कम्पनीहरुमा जागिर पाउनु प्रतिष्ठित मानिन्छ। त्यसमाथि हरेक महिना दश लाख मानिस कामका लागि तयार हुने भारतमा आर्थिक वृद्धिदर ७.६ प्रतिशत भए पनि त्यसले पर्याप्त जागिर उत्पन्न गर्न सक्दैन। यसैले भयानक प्रतिस्पर्धाको यस्तो मञ्च तयार गर्दछ।

अवस्थी पनि यस्तै इच्छाहरुमा समाहित भए। इन्दौरभन्दा ४ सय माइल उत्तरपूर्वका उनी आर्थिक र सामाजिक खुड्किलो चढ्ने आशामा सहर पस्ने अनगिन्ती मान्छेहरुमध्ये एक थिए।सन् २०१३ मा एबोट कम्पनीले उनलाई सेल्सम्यानको जागिर दिदाँ उनले चिठ्ठा परेको अनुभव गरेको उनकी २७ वर्षीया विधवा पत्नी अनिता अवस्थी बताउँछिन्। आशिषले त्यसबेला अनितालाई भनेका थिए, ‘अब म तिम्रालागि जे पनि गर्नसक्छु।’

न्युरोलोजिकल बिरामीहरुमा एबोटको औषधि प्रयोग गर्न डाक्टरहरुलाई प्रेरणा दिनु उनको काम रहेको उनका पुराना हाकिम रामचन्द्र तिवारी बताउँछन्। तिवारीका अनुसार सो काम एकदमै कठिन काम हो, जसका लागि बिहानै र रात परेपछि डाक्टरको ध्यान खिच्न आक्रमक प्रयास आवश्यक हुन्छ।

अवस्थीले राम्रो लक्षण देखाए। २०१५ मा उनले शीर्ष बिक्रेताको पुरस्कार पनि जिते। उनीहरुको युवा दम्पतीले कैयौँ निकट साथी बनाएको, व्यस्त सामाजिक जीवन निर्माण गरेको र चलचित्र हेर्न तथा मन्दिरहरुमा घुम्न जाने गरेका अनिता बताउँछिन्। उनी त्यसबेला आफ्नो ‘पर्फेक्ट लाइफ’ रहेको मान्छिन्।त्यसपछि उनीहरुको खर्च बढ्न थाल्यो। अवस्थीले एउटा कार किने, जुन भारतीय मध्यमवर्गको प्रतीक बनेको छ, र गर्वपूर्वक फूलले सजाइएको कारको तस्वीर लिए। त्यसपछि उनले ऋण लिएर करीब २० हजार डलर पर्ने एक बेडरुम भएको अपार्टमेन्ट किने।

अपार्टमेन्ट किन्नुको अर्थ पैसाको अभाव हुनजान्थ्यो। अनिताका अनुसार उनको पतिले उनीहरुको ७ वर्षीया छोरीको स्कुलको शुल्क तिर्न साथीसँग ७० डलर सापटी मागेका थिए।तर गत जुनमा नयाँ म्यानेजर आउन्जेलसम्म सब ठीक थियो, अनिता भन्छिन्। उनका पूर्व म्यानेजर तिवारीका अनुसार कर्मचारीमा बिक्री लक्ष्य तीव्रताका साथ बढाइयो। तिवारी यसलाई ‘अमानवीय र अप्राकृतिक’ दबाव मान्दछन्।अवस्थी मृत फेला परेको दिन उनले नयाँ हाकिमसँग भेट्नुपर्ने थियो। अनिताको विश्वास छ, काममा दक्ष भए पनि त्यस दिन आफ्नो प्रतिष्ठित जागिर गुम्ने आशंका अवस्थीको थियो।

अवस्थीका अन्तिम दिनहरु

वस्थीले आत्महत्या गरको रेलको लिकमा उनका साथी भावुक मुद्रामा
वस्थीले आत्महत्या गरको रेलको लिकमा उनका साथी भावुक मुद्रामा

पतिको आत्महत्याको केही दिनपछि आफ्नो सानो बैठक कोठामा बसेर श्रीमती अवस्थीले पतिको जीवनका अन्तिम हप्ताहरुको वर्णन गरिन्।

‘उनले कम्पनीले मलाई दबाव दिइरहेको छ भनेर सुनाएका थिए,’ उनले भनिन्। गुलाबी सारी लगाएकी उनका नजिकै शोक मनाउन भेला भएका आफन्तबीच उनका केटाकेटी खेलिरहेका थिए, ‘मैले काम परिवर्तन गर भनेँ। उनले भने, ‘मैले अर्को जागिर कसरी पाउँछु?’जुनमा अवस्थीको समूहमा नयाँ हाकिम इन्दर कुमार नियुक्त भएपछि कामको दबाव ह्वात्तै बढ्यो। त्यसबेला इन्दौरबाट दक्षिण भारत सरुवा गरिएका पुराना म्यानेजर तिवारी बर्खास्त भइसकेका थिए।

दुई पूर्व कर्मचारीका अनुसार म्यानेजर इन्दर कुमार अफ्ठ्यारा हाकिम थिए। त्यसमध्ये मयंक पाण्डेका अनुसार, इन्दर कुमारसँग काम गर्दा बिक्री लक्ष्य भेट्न उनी यति हतारिए कि उनले आफ्नै नगद डाक्टरलाई घुस ख्वाए र एबोट कम्पनीको औषधि लेख्न लगाए। पाण्डेले यसैसाल आफू ‘मानसिक रुपमा टुटेको’ भन्दै एबोट छोडे।इन्दर कुमारले अन्तर्वार्ताका अनुरोध अस्वीकार गर्दै कडकोलसगँ सम्पर्क गर्न भने।

कडकोलले कुनै पनि कर्मचारीका बारे टिप्पणी नगर्ने कम्पनीको नीति रहेको बताए। कडकोलले एबोट कम्पनीमा कुनै पनि प्रकारका ‘प्रतिकारात्मक तथा कलंकित गर्ने व्यवहार’ नभएको बताए, जसले ‘उत्पीडन तथा अनुचित दबावरहित’ वातावरण तयार गर्न सघाउ पुर्याउने उनको तर्क थियो। अवस्थीको प्रदर्शनलाई लिएर कुनै दबाव नदिइएको उनको जोड थियो।

अनिता अवस्थीका अनुसार म्यानेजर इन्दर कुमारले उनको पतिलाई सोमबारको बैठकमा झिकाएका थिए। त्योभन्दा अघिल्लो दिन, उनले भनिन्, अवस्थी असामान्य रुपमा शान्त थिए। उनले अपार्टमेन्ट बढारकुढार गरे, आफ्ना दुवै बच्चाहरुलाई नुहाइदिए र खाना खुवाए। त्यसपछि उनी पत्नीकै छेऊमा पल्टिएर निदाए। साँझको ६ बजेतिर सेलफोन र पर्स दुवै छोडेर उनी बाहिर निस्किए।

प्रहरीले उनको शव भोलिपल्ट बिहान रेलको लीकमा फेला पार्यो। अवस्थीको मृत्युपछि एबोट कम्पनीले उनको परिवारलाई ३ लाख ४५ हजार भारतीय रुपैँयाको चेक दियो, जसमा उनको जुलाई महिनाको तलब र भत्तासहित विभिन्न भुक्तानी तथ उपदानसमेत सम्मिलित थियो। तथापि अनिता कुनै काम नगर्ने हुनाले पैसाको खाँचो भए पनि उनले चेक धुलाउन अस्वीकार गरिदिइन्।
‘तिनीहरुको कारण उनको मृत्यु भयो’, उनले भनिन्, ‘तिनीहरुले यसको जिम्मेवारी लिनैपर्छ।’

गीता आनन्द र फ्रेडरिक जोलभिङले न्युयोर्क टाइम्समा प्रकाशित रिर्पोटिङको अनुदित तथा सम्पादित अंश

LIVE TV