१ भाद्र २०७३, बुधबार

महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुनेभएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो ।

Nepali-congress-Centre-office-Sanepa
एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हँुदैछ । सङ्घको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ ।
सङ्घको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई ÷ तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताउनुभयो ।
निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसङ्घमा हालसम्म तीन हजार ७ सय ९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत भरत खरेलले जानकारी दिनुभयो ।
आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भनेर दाबी गर्ने काँग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्वका लागि निर्वाचन भने कडा सुरक्षा घेरामा गर्दैछ । पार्टी कार्यालयमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब तीन सय भन्दा बढी प्रहरी तैनाथ छन् ।

LIVE TV