३२ श्रावण २०७३, मंगलवार

म्याग्दीको पर्यटकीय गाउँ बेगखोला गाविसमा नेपालकै अग्लो झोलुङ्गे पुल निर्माण हुने भएको छ । बेग गाँउबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेलले सोमवार शिलन्यास गर्नुभएको छ ।


पुलको निर्माणपछि गाविसबाट प्राप्त हुने शिक्षा, स्वास्थ्य सहितका सेवासुविधा प्रयोग गर्न करिव ३ घण्टाको पैदलयात्रा गरेर बेग आउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । साथै आसपासका गाविसका बासिन्दा समेत लाभान्वित हुने पुल निर्माण समितिका अध्यक्ष नेत्रबहादुर पुनले बताउनुभयो । पुल बनेपछि म्याग्दी जिल्लाभित्र प्रवेश गर्ने तथा मुस्ताङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत आकर्षित गर्न सकिने स्थानीयको भनाई छ । जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेबारी लिएर आएलगत्तै जिल्लाको पहिचानलाई झोलुङ्गे पुलसंग जोड्ने प्रयास गरेर मन्त्रालय सहित विभिन्न निकायमा पहल गरेका स्थानीय विकास अधिकारी पौडेलले आफ्नो योजना पुरा भएको बताउँनुभयो ।
गत आर्थिक बर्षमा १२ वटा झोलुङे पुल बनाएरको स्मरण गदैं पौडेलले आवश्यक साम्रगी, प्राविधिक सहितको जनशक्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । समुदायको सक्रियतामा पुल निर्धारित समयमै सम्पन्न हुने उहाँको विश्वास थियो । ३ करोड २२ लाख ९५२ को लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ । स्थानीयले आवश्यक जनश्रमदान सहित जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
पुल निर्माण सम्पन्न भएपछि बादुँकका बासिन्दा ३ घण्टाको बाटो २० मिनेटमै पार गर्न सफल हुनेछन् । बेग गाविसमा कुल २२ सय घरधुरी छन् । अधिकांश जनजातीको बस्ती रहेकाले पुराना कला र संस्कृति समेत बेग गाउँको पहिचान मानिन्छ । पुल निर्माणपछि बेगका साथै दोवा, चिमखोला, भगवती, दग्नाम, भुरुङ–तातोपानी, नारच्याङ दाना, शिख, घार, हिस्तान गाविसका बासिन्दा समेत लाभान्वित हुनेछन् । बेलायत सरकारबाट भिसी सम्मान पाएका स्वर्गीय तुलबहादुर तिलिजा पुनको गाउँ भनेर विश्वप्रख्यात बेगमा स्थानीयबासीको लगानीमा १ करोडको लगानीमा भिसी मार्ग समेत निर्माण गरिएको छ ।

LIVE TV