३१ श्रावण २०७३, सोमबार

काठमाडौँ,साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले कालोबजारी नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन र गैरकानुनी धन्दा गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज उपप्रधानमन्त्री विमलेन्द्र निधि, आपूर्तिमन्त्री दीपक बोहोरा, कृषि मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “कालोबजारी मौलाएको, उपभोक्ता मारमा परेको र तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर ठगी गरेको भन्ने सूचना छ । उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुस् ।”

जनताले सहज रुपमा सेवा पाउनाको साटो दैनिक हैरानी खेप्नुपरेको र राज्य नै नभएको भन्ने जस्तो अवस्था आएको छ भन्दै प्रधानमन्त्रीले प्रभावकारी रुपमा अनुगमन गर्न र त्यसका लागि सबै प्रकारको साधन र स्रोत उपलब्ध गराउन निर्देशन दिनुभयो ।

उहाँले कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि गर्ने व्यापारीलाई द्रुत टोली मार्फत कारबाही गर्न विद्यमान संयन्त्रमार्फत काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनतालाई सरकार छ भन्ने कुराको अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो, तसर्थ तपाईंहरु कालोबजारी, कृत्रिम अभाव र महँगी गर्नेविरुद्ध ¥यापिड एक्सन प्लान बनाएर कारबाही गर्नुस् । कानुनी दायरामा ल्याउनुस् ।”

प्रधानमन्त्रीले एकीकृत र केन्द्रीय नेतृत्व मार्फत तत्काल परिणाम आउने गरी काम गर्न आग्रह गर्दै भन्नुभयो, “एकीकृत संयन्त्र चाहिन्छ भने यसबारे हामी छिट्टै निर्णय गर्छौैं ।” प्रधानमन्त्रीले बजारमा बेथिति ल्याउनेविरुद्ध कानुनी कारबाही हुन्छ भन्नुभयो ।” प्रधानमन्त्रीले भन्नुभयो, “बेथिति निम्त्याउनेलाई त्रासको स्थिति पैदा होस्, जनतालाई राहतको अनुभूति होस् । परिणामुखी र नमुनायोग्य कामबाट सुरु गराँै, प्रणाली बसालौँ, कार्यान्वयन गरौँ । मिति नाघेका सामान जफत गरेर जलाऔँ, जनतामा नयाँ सन्देश पैदा गरौँ ।”

गृहमन्त्री निधिले बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउन गृह प्रशासनले पूर्ण क्षमताका साथ काम गर्ने बताउनुभयो । गैरकानुनी काम गर्ने, उपभोक्तालाई ठग्ने, दुःख दिने तथा बजारलाई अव्यवस्थित बनाउनेलाई कारबाही गर्न मन्त्रालयले कुनै पनि मोलाहिजा नराख्ने उहाँले बताउनुभयो ।

आपूर्तिमन्त्री बोहोराले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई पूर्ण क्षमताका साथ परिचालन गरिएको र केही सकारात्मक परिणाम पनि आएको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतले बजार अनुगमनलाई व्यवस्थित बनाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो । रासस

LIVE TV