३० श्रावण २०७३, आईतवार

बर्षौदेखि सास्तीमा छन् सुस्तावासी । छिमेकीको हेपाहा प्रवृतिले हेपिएका छन् सुस्तावासी । आफ्नै माटोमा पराईको रजाई सहेर बसेका छन् उनीहरु । सीमा मात्र मिचिएन , अधिकार खोसियो , आफ्नै माटोमा अरुको शासन चु्पचाप सहन विवश सुस्तावासीमाथि अर्को आपत्त आइलागेको छ यसपटक । नगरेको अपराधमा १९ सुस्तावासीमाथि भारतीय प्रहरीले ज्यानमारा भन्दै मुद्दा दायर गरेको छ ।


नवलपरासीको सुस्ताका १९ जना सर्वसाधारण नेपालीमाथि भारतीय प्रहरीले हत्या अभियोगमा मुद्दा दायर गरेको छ । भारतमा भएको एक हत्याको अभियोगमा सुस्ताका सर्बसाधारणहरुलाई भारतीय प्रहरीले मुद्दा दर्ता गरेपछि उनिहरु कतिखेर पक्राउ परिने हो भन्ने डरले भयभित छन् । आफ्नै भूमिमा भारतीय प्रहरीको ताण्डव बारम्बार देखेका उनीहरु भारत जान त परै जावस आफ्नै माटोमा आएर पक्राउ गर्ला कि भन्ने चिन्तामा छन् । सुस्तामा बस्दै आएका २८ बर्षीय प्रभू लोनियाको गत असार १४ गते सुस्तावाट ५० किलोमिटर टाढाको दूरीमा अवस्थित भारतीय भूमिमा रहस्यमय तरिएकाले हत्या भएको थियो । सो हत्याको आरोपमा भारतीय प्रहरीले उनिहरु माथि समेत मुद्दा दर्ता गरेको छ । मुद्दालाई अदालत नपठाए सम्म भारतमा जाँदा तिं सुस्ताबासीलाई समस्या हुन सक्ने भन्दै सुस्ता बचाउँ अभियानका अध्यक्ष गोपाल गुरुङले फाईल अदालत गएपछि मात्र मुद्दा दर्ता गरिएका सुस्ताबासीले आफ्नो भनाई राख्ने पाउने बताउनु हुन्छ ।
यता नवलपरासीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद चौधरीले मृतकका परिवारलाई भारतीय प्रहरीले कागजमा लेखिएको ब्यवहोरा नै नदेखाई जबरजस्ती सहि गर्न लगाएको मृतका आफन्तलाई उदधृत गर्दै संचारकर्मीलाई बताउनुभयो ।
यस घटनाबारे नवलपरासी प्रशासनले गृह मन्त्रालयलाई समेत जानकारी गराईसकेको छ । यस बारेमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट लिखित रुपमा मन्त्रालयमा पत्राचार गरिसकिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
घटनास्थल सुस्ताबाट निकै टाढां भएकाले पनि यो घटनामा मुद्दा दर्ता भएका सुस्ताबासीको कुनै दोष नभएको अनुमान गर्न सकिन्छ । यद्यपी भारतीय प्रहरीले सुस्ताका सर्बसाधारणको नाममा मुद्दा दर्ता गरी अन्य सुस्ताबासीलाई समेत त्रसीत बनाउन खोजीएको आँकलन गरिएको छ ।
पटक–पटक भारतीय पक्षबाट हँुदै आएको आतङ्क र हेपाहा प्रबृत्तिबाट सुस्ताबासी निकै हैरान बनीसकेका छन् । सुस्तामा अहिलेसम्म १४ हजार हेक्टर नेपाली भूमी भारतीय पक्षबाट अतिक्रमण हुँदा समेत राज्य मौन छ । राज्यको यही मौनताले भारतीयहरुको मनोबल बढ्दा सुस्तावासी नेपालीहरु भने राज्य हराएको महसुस गर्न विवश छन् ।

LIVE TV