३० श्रावण २०७३, आईतवार

शनिबार दिउँसो भएको एक युवकको हत्यामा संलग्न नौ युवकलाई जिल्ला प्रहरी कार्यालय, तनहुँले आज पक्राउ गरेको छ ।

ब्यास नगरपालिका–१० बिसघरे निवासी १८ वर्षीय आकाश थापालाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकामा थापाको उपचारका क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको थियो ।

मृतक थापालाई जिल्ला प्रशासन कार्यालय अगाडि सात÷आठ जनाको समूहले धारिलो हतियार प्रहार गर्दा ढाडमा गहिरो चोट लागेको थियो । उक्त घटनामा संलग्न युवामा ब्यास नगरपालिका–१ भादगाउँ र हाइस्कुलटार क्षेत्रका सुरेश थापामगर, कुमार थापा, मनिष चन्द, श्रीविलास चन्द, पृथ्वीवंशी ठकुरी, ऋषि थापा, पदम चन्द, जोनसन थापा र बाबुराम ठकुरी रहेको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका नौ जना १५÷१६ वर्षका रहेका र उनीहरुका साथबाट दुई वटा खुकुरी र एक थान चक्कुसमेत बरामद गरिएको छ ।

उनीहरुलाई शनिबारदेखि नै लागू हुनेगरी तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक सातदिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतकका परिवारले दोषीलाई कडा कारबाही गरिनुपर्ने माग राखेका छन् । रासस

LIVE TV