३० श्रावण २०७३, आईतवार

नेपाल मजदूर किसान पार्टीका विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवालले बहिरालाई हरेक संवैधानिक निकायमा प्रतिनिधित्व गराउने कानुन निर्माणको तयारी भइरहेको बताउनुभएको छ ।

भक्तपुर बहिरा सङ्घको १० औँ अधिवेशन तथा २० औँ साधारणसभामा बोल्दै उहाँले सबै वर्ग र समुदायको अधिकार व्यावहारिक रुपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले आमनागरिक र बहिराबीच प्रत्यक्ष संवाद गराउन संस्थागत रुपमै दोभाषेको व्यवस्था गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अधिवेशनले सङ्घको अध्यक्षमा सूर्यबहादुर बुढाथोकीलाई पुनः निर्वाचित गरेको छ । सङ्घको उपाध्यक्षमा नरेश थापा क्षेत्री, कोषाध्यक्षमा सुशील बोहजु, सदस्यमा प्रकृति ढुङ्गेल, विन्दा काफ्ले र रमेश श्रेष्ठ लगायत निर्वाचित भएका छन् ।

कार्यक्रममा बहिरा परिवारबाट एसएलसी उत्तीर्ण गर्नुभएका विद्यार्थीद्वय विक्रम गोठे र सपना चक्रधरलाई सम्मान गरिएको थियो ।

सङ्घले बहिरा तथा अन्य स्रोतबाट सङ्कलन भएको रु १४ लाख ७० हजारमा भक्तपुर नगरपालिका–४ मा दुई आना दुई पैसा जग्गा खरिद गरेको जानकारी दिएको छ । रासस

LIVE TV