२८ श्रावण २०७३, शुक्रबार

नेपाल धितोपत्रबोर्डले सार्वजनिक निष्काशन गरी सूचिकृत भईसकेका कम्पनीको फर्दर पब्लिक इस्यू (एफपीओ) को मूल्य निर्धारण विधि तथा आधारहरु तयार गरेको छ । अब एफपीओको मूल्य निर्धारण गर्दा सम्बन्धित संस्थाको विगत , वर्तमान र भविष्यको वित्तीय विवरणको मूल्याङ्न तथा औसत बजार मूल्यका आधारमा गरिनेछ ।


यो विधि कार्यान्वयनमा आएपछि एफपिओको मूल्य निर्धारणमा एकरुपता आउने र अंकित मूल्य भन्दा बढी मूल्य तोकी निष्काशन गर्दा मूल्य निर्धारण प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी हुने बोर्डले अपेक्षा गरेको छ । विशेषगरि सम्बन्धित कम्पनीको पूँजीकृत भएको आम्दानी, प्रतिशेयर खुद सम्पतिको मूल्य, १८० दिनको औषत बजारमूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यको आधारमा एफपिओको मूल्य निर्धारण गरिनेछ ।  सूचिकृत संस्थाले बोर्डले तय गरेको आधार र विधि अनुसार मूल्य गणना गर्ने र सबैविधिबाट उपलब्ध भएको कुल मूल्यको सामान्य औसत गणना गरि मूल्य निर्धारण गर्नुपर्नेछ । साथै सूचिकृत संगठित संस्थाले एफपिओ निष्कासनको लागि साधारणसभाबाट अनुमोदन भएको चार महिनाभित्रमा बोर्डमा आवेदन दिई सक्नुपर्नेछ । त्यसैगरि सम्बन्धीत कम्पनीले मूल्य निर्धारण गर्दा बोर्डले तय गरेको विधि बमोजिम भए नभएको औचित्य समेत प्रष्टयाउनुपर्ने धितोपत्रबोर्डले जनाएको छ ।

LIVE TV