२७ श्रावण २०७३, बिहीबार

डा. कृष्णप्रसाद पौडेल
बालरोग विशेषज्ञ
कान्ति बाल अस्पताल
लक्षणहरू
१० वर्षमुनिका बालबालिकामा बढी देखापर्ने यो रोगको बढी जोखिममा भने पाँच वर्षमुनिका बच्चाहरू पर्छन् । तर, वयस्कहरूमा पनि यो रोग हुनसक्छ । बालबालिकामा ज्वरो आउने, लोसो हुने, कम खाना खाने हुन्छ । सुरुमा घाँटीतिर रातो बिमिरा देखिएपछि पानी भरिएको जस्तो देखिन्छ । पानी र पिपजस्तो भरिएको खटिराको मुखमा अल्सर वा घाउहरू देखापर्न थाल्छ । केही दिनमा खुट्टाको पैताला तथा हत्केलामा पनि त्यस्तै देखिन्छ । कहिलेकाहीँ यो मलद्वारको वरिपरि, घुँडा तथा कुहिनो हुँदै प्रजनन अंगतिर पनि देखिन सक्छ । यस्तोमा बालबालिकाहरू दुखाइका कारण झगडा गर्ने, रुने वा झर्कने गर्न सक्छन् ।

Capture
जटिलता
साना बच्चामा मुख वा घाँटीको समस्याले गर्दा केही खुवाउन नसकिने वा निल्न नसक्ने हुँदा जलवियोजन हुनसक्छ ।कहिलेकाहीँ क्यानेन्जाइटिस वा इन्सेफ्लाइटिस पनि हुनसक्छ ।
कसरी सर्छ ?
बिरामीको सिँगान, र्‍याल, खकार तथा शरीरको अन्य तरल पदार्थबाट बिरामीको संसर्गमा आउनेलाई यो सर्नसक्छ ।
कसरी बच्ने ?
सरसफाइ मात्र यसबाट बच्ने उपाय हो । विशेषगरी, बिरामी बच्चाको संसर्गमा आएपछि साबुनपानीले हात धुनुपर्छ । एउटै रुमाल प्रयोग गर्नु हुँदैन ।
उपचार तथा ध्यान दिनुपर्ने कुरा
सामान्यतया यो एक हप्तामा सन्चो हुन्छ ।
केही खुवाउन नसकेको अवस्थामा वा जलवियोजन भएको अवस्थामा अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।
यसको निश्चित उपचार नभएकाले लक्षणअनुसार ज्वरो वा दुखाइ कम गर्न औषधि सेवन गर्नुपर्छ । आवश्यकताअनुसार मुखभित्र लगाउने मलम चिकित्सकको सल्लाहमा दिन सकिन्छ ।
तातो, पिरो, नुनिलो खुवाउँदा पोल्ने हुँदा मनतातो वा सेलाएको दूध, नरम खाना खुवाउनुपर्छ । केरा, जाउलो, नरम वा भिजाएको पाउरोटी तथा बिस्कुट खुवाउन सजिलो हुन्छ ।
केही खुवाउन सकिएन, पिसाब कम भयो वा अलि लठ्याएको भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनु राम्रो हुन्छ ।  – नयपत्रिका

LIVE TV