२५ श्रावण २०७३, मंगलवार

मेहनत गरे स्वदेश मै छ – काम र दाम । तर यो मान्ने कसले ? यहाँ केही गर्न सकिएन भन्दै बिदेश पस्नेको लर्को ठूलो छ । काम जस्तो सुकै होस् तर विदेश नै जाने मानसिकताले ग्रसित छन् अधिकांश युवा । मेहनत गरे के हुँदैन र भन्ने उदाहरण दिने ब्यक्तिहरु पनि हाम्रै समाजमा छन् । नेपालमा केही हुँदैन, केही गर्न सकिदैन भन्दै बिदेश भासिनेहरुका लागि स्वदेशमै केहि गर्न सकिन्छ भनेर क्रियाशील केही व्यक्तिहरुले स्वदेशका संभावनाप्रति विश्वास दिलाएका छन् ।
यिनी जयप्रसाद दंगाल । काठमाण्डौको भिमसेन स्थानमा बस्दै आएका दंगाल सुन्धारा खिचापोखरीको एउटा कुनामा चिया बेच्छन् । सुनसरी घर भएका ४० वर्षीय उनले यसरी चिया बेच्न थालेको १० बर्ष भयो । बिहान धेरैका आँखा नखुल्दै आफ्नो डेराबाट आएर उनी चिया बनाउन थाल्छन् । उनीसंगै उनकी श्रीमती र २ जना छोराहरु छन् । उनको जेठो छोरा अहिले बीए पढ्दैछन् भने कान्छा चाँही १० कक्षामा पढ्छन् । यहि व्यापारले उनको जीवन राम्रोसँग चलेको छ । चिया बेचेरै सुनसरीमा जग्गा पनि लिएका छन् जयप्रसादले ।
पैसा कमाउने शिलशिलामा १५ बर्ष भारतमा बसेका उनले खासै केहि गर्न सकेनन् । त्यसपछि साहुसंग ऋण लिएर गाउँमै सागसब्जी खेती थाले तर त्यसबाट उनले कुनै प्रतिफल पाएनन् उल्टै ऋणको भारी मात्रै थपियो । त्यसपछि केही गर्ने अभिलाषा बोकेर २०६२ सालमा उनी काठमाण्डौ आए । काठमाण्डौ आए लगत्तै धरहरा अगाडी फटपाथमा बसेर चिया बेच्न थाले । त्यसैबाट उनले बिस्तारै साहुको ऋण पनि तिरे र अहिले खिचापोखरीमा एउटा सानो सटर लिएर चिया पसल नै गरिरहेका छन् । चिया पसलकै आम्दानीले हालै उनले नजिकै ढाका कपडाको पसल पनि खोलेका छन् । अहिले उनको दुबै ब्यापार राम्रो चलेको छ ।
विदेश गएर जस्तो काम गर्न पनि तयार हुने तर स्वदेशमा त्यहि काम गर्न लाज मान्छन् नेपालीहरु । कामको ईज्जत गर्नेका लागि कुनै काम सानो हुँदैन । बिदेश गएर मात्र पैसा कमाउन सकिन्छ नेपालमा के हुन्छ र ? भन्नेहरुका लागि जयप्रसाद उदाहरण बनेका छन् । स्वदेशमै केही जर्ने आँट भए बिदेश जानु नपर्ने उनी बताउँछन् ।
जयप्रसाद त प्रतिनिधि पात्र हुन् । काठमाडौंका विभिन्न सडकछेउमा ठेला–व्यापार गर्नेहरुले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन बालबच्चालाई राम्रा विद्यालयमा पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरै ब्यक्तिहरुले परिवारको पूर्ण जिम्मेवारी सम्हालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरु । साँच्चै जाँगर चलाउने हो भने पैसा कमाउनलाई विदेश जानु पर्दैन, मेहनत र पहिचान गर्न सके काम र दाम यहीँ छ ।

LIVE TV