२४ श्रावण २०७३, सोमबार

काठमाण्डौंको भृकुटीमण्डपमा जारी नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुदैछ । बन्दसत्रमा सङ्घका अध्यक्ष रञ्जित कर्णले राजनीतिक तथा साङ्गठनिक, शैक्षिक तथा आर्थिक प्रतिवेदन गरी तीनवटा प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
नयाँ नेतृत्वको लागि भोलि मात्र उम्मेद्वारी दर्ता गरिने प्रवक्ता यूपी लामिछानेले जानकारी दिनुभयो । नेपाली कांग्रेसभित्र देखिएको गुटगत राजनीतिको प्रभाव भातृ संगठन नेविसंघको महाधिवेशनमा पनि देखिएको छ ।

nebi
मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसको भ्रातृ संस्था नेविसङ्घको ११ औं महाधिवेशन साउन २५ गतेसम्मका लागि तय गरिएको भएपनि लम्बिने संकेत मिलेको प्रवक्ता लामिछानेले बताउनुभयो ।
नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकको एकीकरणपछि विसं २०६४ देखि हुन नसकेको नेविसङ्घको यस महाधिवेशनमा विद्यार्थी नेता र कार्यकर्ता उत्साहका साथ सहभागी भइरहेका छन् । महाधिवेशनमा मुलुकभरका करिब तीन हजार ४०० प्रतिनिधि सहभागी भएको नेविसंघले जनाएको छ ।
नेविसंघको नयाँ नेतृत्वका लागि भोलि उम्मेद्वारी दर्ता र निर्वाचन हुने छ । संघको कार्यसमितिमा एक अध्यक्ष संघको प्रदेश र समावेशीसहित १३ उपाध्यक्ष, एक मनोनीतसहित तीन महामन्त्री, एक कोषाध्यक्ष, प्रदेशबाट सात, समावेशीतर्फ चार, कर्णालीसहित पिछडिएको नौ जिल्लाबाट एक, उपत्यकाबाट एकसहित १६ सहमहामन्त्री हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

LIVE TV