२२ श्रावण २०७३, शनिबार

मधेसवादी दलका नेताले मुलुकभित्रै रोजगारीको सिर्जना गरी विदेसिएका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

सुनसरी–काठमाडौँ सम्पर्क समितिद्वारा यहाँ आज आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तक्र्रियामा नेताहरुले नेपालको स्रोतसाधनबाट रोजगारीको सिर्जना गरी युवा पुस्तालाई उद्यमशील बनाउनुपर्ने धारणा राख्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका सचिव अजम्बर काङमाङ राईले नेपाली राजनीतिक क्षेत्रलाई युवा पुस्ताले नेतृत्व नगरेसम्म अन्य क्षेत्रको समेत विकास हुन नसक्ने दाबी गर्नुभयो ।

मुलुकमा ब्याप्त, महँगी, भ्रष्टाचार, कालोबजारीलगायत सबै प्रकारका विभेद अन्त्य गर्नका लागि पनि अब मुलुकको नेतृत्वमा युवापुस्ता आउनुपर्ने उहाँले भन्नुभयो । “तीनबुँदे सहमति कार्यान्वयन गर्ने सहमतिका आधारमा वर्तमान सरकारलाई सङ्घीय गठबन्धनले सहयोग गरेको हो, त्यसैले सहमति कार्यान्वयन हुनेमा विश्वास गरिएको छ”– उहाँले भन्नुभयो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनका क्रममा सहिद भएका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने, झुठा मुद्दा फिर्ता लिने र घाइतेको उपचार खर्च उपलब्ध गराउनेलगायतका निर्णय गरेको छ ।

सम्पर्क समितिका सभापति सुकदेव चामलिङ र सङ्गठन विभाग सचिव ध्यानबहादुर राईलगायतले तीनबुँदे सहमतिअनुसार पहिलो बुँदामा रहेको संविधान संशोधनमार्फत मधेसी समुदायको मुद्दा सम्बोधन गर्नेबारे सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । रासस

LIVE TV