२२ श्रावण २०७३, शनिबार

उच्च रक्तचाप, मधुमेह, सूर्तिजन्य पदार्थ र मोटोपनाको सम्बन्ध मुटु रोगसँग स्थापित भइसकेको छ । सर्कुलेसन जर्नलमा प्रकाशित एक नयाँ अनुसन्धानको विवरणले रजस्वला प्रारम्भ भएको उमेरको आधारमा महिलामा मुटु रोग, मस्तिष्कघात र उच्च रक्तचाप समस्याको अनुमान गर्नसकिने जानकारी दिएको छ । पहिलोपटक रजस्वला १० वर्षमा वा त्यस पहिले अथवा १७ वर्ष वा त्यसपछि सुरु भएकी महिलामा मुटु रोग, मस्तिष्कघात र उच्च रक्तचापको खतरा बढ्छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत क्यान्सर महामारी विभागका डा. डेक्सटर कानोयको नेतृत्वमा भएको अनुसन्धानमा बेलायतका ५० देखि ६० वर्ष उमेर समूहका १३ लाख महिलाको स्वास्थ्य अवस्थाको विवरण लिँदै १० वर्षसम्म अनुगमन गरिएको थियो ।

अनुसन्धान टोलीले थाहा पायो– पहिलोपटक रजस्वला १० वर्षमा वा त्यस पहिले अथवा १७ वर्ष वा त्यसपछि सुरु भएकी महिलामा मुटु रोग, मस्तिष्कघात र उच्च रक्तचापसँग सम्बन्धित जटिलता उत्पन्न हुने जोखिम हुन्छ । १३ वर्षको उमेरमा रजस्वला सुरु भएकी महिला तुलनात्मक रूपमा ती समस्याबाट सुरक्षित हुन्छन् । अनुसन्धानमा समावेश जोखिममा रहेका महिलामध्ये २७ प्रतिशतमा मुटुको समस्याले अस्पताल भर्ना गर्नुपर्ने वा उनीहरूको मृत्युहुने खतरा, १६ प्रतिशतमा मस्तिष्कघातले अस्पताल भर्ना हुनुपर्ने वा मृत्युको खतरा तथा २० प्रतिशतमा उच्च रक्तचापले गर्दा अस्पताल भर्ना हुनुपर्ने वा मृत्युहुने खतरा पाइएको थियो ।
धूमपान र मध्यपान गर्ने, मोटोपना तथा मधुमेह भएको छ भने त समस्या झनै बढ्ने अनुसन्धान टोलीको भनाइ छ । डा. कानोयका अनुसार मोटोपनाले गर्दा पनि बालिकामा रजस्वला चाँडै सुरु हुँदैछ । बाल्यकालको मोटोपना विकसित देशहरूमा समस्या बन्दै गाएको छ, यसले गर्दा चाँडै रजस्वला हुने सम्भावना बढ्छ– उहाँले भन्नुभएको छ । यसअघि, सन् २०१२ मा हार्वर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले पनि चाँडै रजस्वला हुनु र मुटुको रोगबीच सम्बन्ध हुने जनाएको थियो । एजेन्सी

LIVE TV