२१ श्रावण २०७३, शुक्रबार

नवलपरासीका बाढी प्रभावितहरुलाई आफुहरुले पर्याप्त मात्रामा राहत सामग्री नपाएको बताएका छन् । बाढी प्रभावितहरुले आफुहरुको बाढीमा लाखौ क्षति भएपनि सामग्रीका नाममा खाद्यन्न र लत्ताकपडा मात्र पाएको गुनासो गरेका छन् ।
घरमा भएको खाद्यान्न, लत्ताकपडा सहित अन्य महत्वपूर्ण सामग्री सबै बाढीले बगाउदा आफुहरु विचल्लीमा परेको तर राहतको नाममा केही किलो चामल र एक सरो कपडा बाहेक केही पाउन नसकेको गुनासो उनीहरुको छ ।
दुई हप्ता अघि आएको बाढीका कारण नवलपरासीमा एक हजार भन्दा बढी घर परिवार प्रभावित बनेको जिल्ला दैविप्रकोप उद्दार समितिले जनाएको छ । एक हजार पाँच सयभन्दा बढी विगाहामा लगाएको धानबाली डुबानमा परेको छ भने पाँचसय विगाहाभन्दा बढीमा लगाएको धानबाली नष्ट भएको अनुमान छ । नौ सय घरपरिवारले आफ्नो धानबालीको क्षति पुगेको र खेती कटान भएको निवेदन जिल्ला दैविप्रकोप उद्दार समितिमा दिएका छन् । केही घरहरुमा पनि क्षति पुगेको निवदेन पनि परेको छ । आशिंक क्षति हुने घरको संख्या बढी छन् । बाढीले सबैभन्दा बढी रामग्राम नगरपालिकामा क्षति पु¥याएको छ । त्यस्तै सुनवल, हकुई, बञ्जरीया दुम्किवास, नयाँबेलहानी, सनई, रामपुरखडौना, भुजहवा, रमपुरवा, नर्सही लगायतमा क्षति पुगेको थियो । जिल्ला दैविप्रकोप समितिमा क्षतिपुर्ति र राहतका लागि निवेदनको चाङ्ग छ तर सरकारी निकायबाट भने अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन । प्रमुख जिल्ला अधिकारी महादेब पन्थका अनुसार प्रकोपमा परेर मृत्यु भएमा ४० हजार र पूर्ण रुपमा घर क्षति भएकालाई पाँच हजारबाहेक अन्य राहत रकम उपलव्ध गराउने सरकारी प्रावधान छैन । राहतका लागि विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरिएको र सोही अनुसार समितिको समन्वयमा प्रभावित स्थानहरुमा राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो । अहिलेसम्म करिब ८ सय बाढी प्रभावितहरुलाई सामान्य मात्रामा राहत सामग्री वितरण गरिएको पनि प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।

LIVE TV