२१ श्रावण २०७३, शुक्रबार

नेपाल निजामती कर्मचारी सङ्गठनले आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्वसम्बन्धी विचाराधीन मुद्दा फिर्ता लिन नेपाल निजामती कर्मचारी युनियन ९सङ्घ०लाई आग्रह गरेको छ ।

आज सङ्गठनको आगामी कार्ययोजनाबारे आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष मोहन घिमिरेले युनियनको विवादलाई अदातलमा प्रवेश नगराई आपसी छलफलबाट सहमति गर्ने भन्दै मुद्दा फिर्ता लिन सङ्घलाई आग्रह गर्नुभएको हो ।

ट्रेड युनियनको निर्वाचन सम्पन्न भइसकेपछि निर्धारित समयसीमाभन्दा ढिलो गरी सङ्गठनले युनियनमा प्रतिनिधित्व गर्न आफ्नोतर्फबाट पदाधिकारीसहित नाम पठाएपछि अवैधानिक भएको भन्दै सङ्घले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको छ । अहिले अदालतमा उक्त मुद्दा विचाराधीन रहेको छ ।

यसैगरी सङ्गठनले निजामती कर्मचारी सहकारी सञ्चालन, व्यवस्थापन गर्न नपाउने गरी बनेको ‘सहकारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३’ लाई सच्याउन माग गरेका छन् ।

सम्मेलनमा सङ्गठनका सदस्यलाई नवीकरणसँगै एक लाख बराबरको दुर्घटना तथा औषधि उपचार बिमा गर्ने पनि अध्यक्ष घिमिरेले जानकारी गराउनुभयो । रासस

LIVE TV