स्वास्थ्य संस्थामा मौसमी ज्वरोका बिरामीको चाप बढ्यो



प्रकाशित मिति : Aug 05, 2016

गत एक हप्तादेखि मौसमी ज्वरोको सङ्क्रमण बढेपछि कैलाली जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।मौसमी ज्वरोका विरामीको चाप बढेसँगै स्वास्थ्य संस्थामा बिरामीको सहज उपचारमा समेत केही कठिनाई उत्पन्न हुने गरेको छ ।सेती अञ्चल अस्पताल धनगढीका चिकित्सक विएस बोहराले अहिलेको समयमा भाइरस बढी सक्रिय हुने भएकाले मौसमी ज्वरोको सङ्क्रमण बढ्ने गरेको बताउनुभयो ।

हाल सेती अञ्चल अस्पतालमा मौसमी ज्वरोबाट सङ्क्रमित दैनिक ८० जनाभन्दा बढी बिरामी उपचारार्थ आउने गरेको डा बोहराले जानकारी दिनुभयो ।निजी स्वास्थ्य क्लिनिकमा अञ्चल अस्पतालमा भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको ती संस्थाले बताएका छन् ।सरुवा यो रोग लागेपछि रुघाखोकी हुने, टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिन्छन् ।

बालबालिका यो रोगबाट बढी प्रभावित भएका छन् । यो रोग लागेमा शीतल ठाउँमा आराम गर्नुपर्ने, झोलयुक्त पदार्थ प्रशस्त मात्रामा खानुपर्ने, उमालेको पानी पिउनुपर्ने र समयमै स्वास्थ्य जाँच गराउनुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ । रासस


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com