कालो सूचीमा विद्युत् ग्राहक



प्रकाशित मिति : Aug 05, 2016

नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले ४७४ ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकलाई शाखाले कालोसूचीमा राखेको हो । उनीहरुबाट रु एक करोड ६ लाख ४४ हजार बक्यौता उठ्न बाँकी छ । कार्यालयका लेखा प्रमुख भगवान ढकालका अनुसार कालोसूचीमा परेकालाई पटक÷पटक पत्राचार गरी बक्यौता तिर्न ताकेता गरिएको छ । उनीहरुको लाइन काट्ने, सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा मिटर बक्स दिनरोक्ने लगायतका काम कार्यालयले गर्दै आएको छ ।

कार्यालयले गत आवमा ४२४ ग्राहकको विद्युत् लाइन काटेको थियो । उनीहरुमध्ये एकसय ८४ जनाले रु ५६ लाख २८ हजार बक्यौता रकम तिरी पुनः लाइन जडान गरेका थिए । हालसम्म रु २६ करोड १९ लाख ५७ हजार बक्यौता उठ्न बाँकी छ । सबैभन्दा बढी सडक बत्तीको रु १५ करोड ९५ लाख २३ हजार रहेको छ । त्यसैगरी घरबत्तीको रु ६ करोड २६ लाख तीन हजार, औद्योगिक प्रयोजनको रु एक करोड ५० लाख ६१ हजार, सिँचाइको ९२ लाख तीन हजार, खानेपानी संस्थानको रु ५३ लाख ५० हजार, व्यापारिक प्रतिष्ठानको रु ७३ लाख १२ हजार र गैर व्यवसायीकतर्फको रु १६ लाख ८२ हजार बक्यौता रहेको छ ।

कार्यालयले गत आवमा १० करोड ९६ लाख ५३ हजार ७८० युनिट विद्युत बिक्री गरेको थियो । भरतपुर वितरण केन्द्रअन्तर्गत ६६ हजार ३६१ ग्राहक रहेका बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com