म्याग्दीमा सम्बन्ध विच्छेदका घट्नामा वृद्धि



प्रकाशित मिति : Aug 04, 2016

म्याग्दी जिल्लामा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ । आधुनिक जीवनशैली, सहरी क्षेत्रमा बसाई–सराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह लगायत आर्थिक तथा घरायसी कारणले सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको छ ।


गत आर्थिक बर्ष २०७२÷०७३ मा ८० सम्बन्ध विच्छेदका लागि निवेदन दिएकोमा ७९ फर्छयौट भएको जिल्ला अदालत म्याग्दीका निमित्त श्रेष्तादार पदमबहादुर थापाले बताउनुभयो । विद्यार्थी उमेरमा विवाह गरेका मध्ये केही परिवारको दवाव, आवश्यकता पुरा गर्न नसकेको तथा श्रीमान बैदेशिक रोजगारमा गएका बेलामा परपुरुषसँगको सम्बन्धका कारण समेत सम्बन्ध विच्छेद भएको पाइएको छ । केहीले त विवाह गरेको केही महिनामै पारपाचुके गरेको समेत पाइएको छ । सम्बन्ध विच्छेद गर्नेमा अधिकांश १८ देखी ३० बर्ष उमेर समुहका रहेका छन् ।
विगतका बर्षको तुलनामा विवाह गर्ने उमेरमै अदालतमा आउनेको संख्या बढ्न थालेपछि यसले गम्भीर सामाजिक समस्या निम्त्याउने भएकाले बालविवाह रोक्ने सहित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा महिला मानव अधिकारकर्मी रेशाखकौशल रेग्मीले बताउनुभयो । उहाँले जिल्लाका केही गाविसमा मेलापर्वको अवसरमा केटाकेटीवीच सहमति भएर मेलाबाटै भाग्ने, सानै उमेरमा दुवै परिवारको सहमतिमा विवाहको निर्णय गरी जवरजस्ती विवाह गराउने जस्ता कारणले समेत सम्बन्ध विच्छेद बढेकाले ग्रामीण क्षेत्रमा समेत सचेतना अभियानको आवश्यकता रहेको बताउनुभयो । बाइट
त्यस्तै केही सम्बन्ध विच्छेद प्रवासमा रहेकाले उतै घरजम गरी गाउँमा रहेकी श्रीमतीलाई कागजी प्रक्रियाका लागि भन्दै झुक्याएर गर्ने गरेको पाइएको छ । विदेश जानका लागि नक्कली विवाह गरेकाहरु समेत अदालती प्रक्रियामा पुग्ने गरेका कारण जिल्लामा सम्बन्ध विच्छेदको घट्नामा वृद्धि भएको बताइएको छ । सामाजिक मूल्य–मान्यतामा आएको परिवर्तन, पश्चिमा संस्कृतिको प्रभावले समेत परिवारमा असर गरेको छ । कतिपयले सहमतिमै सम्बन्ध विच्छेद गरी अदालतबाटै अर्को पुरुषसँग जाने गरेको समेत भेटिएको छ ।
चालु आर्थिक बर्षको साउन महिनाको दोस्रो सातामै चारवटा सम्बन्ध विच्छेद भएको छ । म्याग्दीमा सम्बन्ध विच्छेदको उजुरी दिनेमा पुरुषको तुलनामा महिला धेरै छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com