मुगुको प्रसिद्ध पर्यटकीय स्थल रारा ओझेलमा



प्रकाशित मिति : Aug 04, 2016

मुगु जिल्लाको पर्यटकीय स्थल रारा पछिल्लो समय ओझेलमा पर्दै गएको छ । स्वर्गको टुक्रा धर्तीमा खसे जस्तै देखिने भनिने सुन्दर पर्यटकीय स्थल रारालाई नेपाल सरकारले अहिलेसम्म प्रर्बद्धनमा ध्यान दिन नसक्दा पर्यटन बिकासमा रारा पछि परेको हो । प्रकृतिले मुगुवासीलाई ठूलो उपहारका रुपमा रारा ताल दिए पनि सरकारको सौतेलो व्यबहारले रारा ओझेलमा परेको सरोकारवालाहरुको गुनासो छ ।

aswfs

रारालाई पर्यटन विकासमा विविध योजना मार्फत विषेश जोड दिन सकेको खण्डमा समग्र देशलाई नै फाइदा पुग्नेमा दुई मत छैन । रारा, चुचुमारे, मुर्माटप, खेष्मामालिक ,मुगुको प्रशिद्ध तीर्थस्थल छायाँनाथ ,मुगु गाउँ, चंखेली हिमाल, लगायत स्थानलाई पनि पर्यटन गन्तब्यको रुपमा पहिचान हुने गरी नेपाल सरकारले पर्यटनको बिकासमा प्रथामिकता दिनुपर्ने मुगुबासीको माग छ ।

प्रत्येक बर्ष जिल्ला वा जिल्ला बाहिरका सरकारी तथा गैरसरकारी निकाय मार्फत करोड भन्दा बढी रकम लगानी राराको नाममा आउँने गरेको छ । तर काम भने कागजमा मात्र हुनेगरेको स्थानीयको गुनासो छ । त्यसरी कागजमा मात्र बनाइएका योजनाले यसको प्रचार प्रसार र संरक्षणमा खासै काम गर्न नसकेको उनीहरुको गुनासो छ ।

चारैतिर कपास फुल जस्तै देखिने बृक्षहरुको बीचमा आधा आकाश खसे जस्तै निलो र कञ्चन देखिन्छ रारा ताल । समुद्री सतहदेखि २९ सय ९० मिटर उचाईमा रहेको राराको आफनै इतिहास छ । राराको लम्बाई ५ हजार मिटर, चौडाई ३ हजार मिटर र गहिराई १ सय ६७ मिटर रहेको छ भने रारा ताललाई एक पटक फन्को मार्न ६ घण्टा समय लाग्छ । बिश्वमै दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुत्तो रारा तालका अर्को बिशेषता हुन् । यस्तै डाँफे, कालीज, लाटोकोसेरो,ढुकुर, चिल, हाँस लगायत ३ सय प्रजातिका चराहरु र कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भाल, रतुवा, लगायत बन्यजन्तु यहाँ भेटिन्छन । गुच्ची च्याउँ,पाँच औले, जटामासी लगायत १८ किसिमको जडिबुटीका लागि पनि रारा क्षेत्र प्रसिद्ध छ ।

हप्तामा २ पटक पोखरादेखि ताल्चा विमानस्थलसम्म हवाई पर्यटन उडान राख्न सके रारा क्षेत्रमा पर्यटकीय आगमनमा बृद्धि हुनसक्ने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् । तर त्यसप्रति जिल्लाका राजनीतिक दलले कुनै पहल नगरेको गुनासो स्थानियबासीको छ । गत बर्ष बेलायत स्वीजरल्याण्ड जापान, हङकङ , अमेरिका , थाइल्याण्ड र भारत लगायतका विदेशी मुुलुकबाट पर्यटकहरु रारा आएको निकुञ्जको कार्यालयको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com