म्याग्दीमा यसबर्ष धेरै मानव बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा



प्रकाशित मिति : Aug 04, 2016

अत्याधिक बर्षा,भिरालो जमिन,कमजोर माटो र भूमिगत पानी लगायतका कारण म्याग्दीमा यसबर्ष बाढीपहिरोले मानव बस्तीहरू उच्च जोखिममा परेका छन् । सडक विस्तार, भौतिक पुर्वाधार सहित वातावरणलाई प्रतिकुल हुने गतिविधिका कारण सदरमुकाम बेनीबजारकै केही स्थानहरु बाढी पहिरोको जोखिममा परेका छन् ।


बर्खायामको सुरुवातसंगै बेनीदेखी पाखापानी जोड्ने सडकखण्डबाट बाढी बेनीबजारमा पस्दा करिव १ सय १० घरमा क्षति पुगेको थियो । विकास निर्माणका गतिविधिमा अग्रसर जिविस, बेनी नगरपालिका सहितका सरकारी कार्यालयको लापरवाही,राजनीतिक दल तथा सरोकारवाला निकायको बेवास्ताका कारण बाढीपहिरोले मानवीय बस्ती सहित सयौं हेक्टर जमिनमा क्षती पुगेको छ । तटिय क्षेत्रमा रहेको ओखरबोट गाविसको फुलबारी सहितका साना बजारलाई समेत नदी कटानले ब्यापक क्षति पुगेको छ ।
यसैगरी ओखरबोट,भकिम्ली,मुना, लुलाङ, अर्मन, बरंजा, राम्चेमा पहिरोले मानवबस्ती सहित आसपासको क्षेत्रमा गएको पहिरोले करिव ३ सय भन्दा धेरै घरधुरी जोखिममा परेको छ । जिल्ला भु–संरक्षण कार्यालय म्याग्दीका अनुसार ओखरबोट गाविस ८ र ९ वडामा अवस्थित जुगेपानी पहिरोबाट पाँच घर विस्थापित भएका छन् । यस्तै भकिम्ली गाविस–९ स्थित तोराखेतका १९ घरधुरी, पात्लेखेत गाविस ४ र ५ बाँन्द्रेखाल्टो पहिरोबाट ५ घर विस्थापित र ८० घरधुरी पनि बाढी पहिरोको जोखिममा परको छन् ।
बेनी नगरपालिका अन्र्तरगत पर्ने पुलाचौरको चिप्लेटीमा ४६ घरधुरी, मुना–७, ८ र ९ पर्ने दरमा १ सय ५०, पाखापानी पहिरोबाट ४५ घरधुरी सहित सडक तथा मानवसृजित लापरवाहीका कारण धेरैजसो गाविसका मानवबस्ती पहिरोको जोखिममा रहेको जनाएको छ । भुक्षय र पहिरोको हिसावले अत्यन्त जोखिमपुर्ण जिल्लाको सुचीमा म्याग्दी रहेको जिल्ला भु–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । बाढीपहिरोको प्रकोप बढेसंगै तारजाली माग्न आउनेको संख्या समेत अत्याधिक बढेकाले ब्यवस्थापन गर्न समेत समस्या भइरहेको पौडेलको भनाई छ ।
म्याग्दीमा ६० प्रतिशत भुभाग ६० डिग्री भन्दा भिरालो जमिन रहेको छ । साविकको ४१ गाविसमध्ये ३८ गाविसमा सानो ठुलो पहिरो रहेकोमा १५ गाविस उच्च जोखिमयुक्त छन् । त्यसमाथि मानवबस्ती माथिबाट आएको पहिरो नियन्त्रणमा चुनौती रहेको समेत पौडेलको भनाई छ । अघिल्लो बर्ष गएको भूकम्पले अग्ला पहाड सहित जमिनमा धजा फाटेका कारण यसबर्ष अझ धेरै बाढी पहिरोको समस्या देखिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com