१९ श्रावण २०७३, बुधबार

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताउनुभएको छ ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा पुगेपछि आज समर्थकसँग उहाँले आफूले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिँदै राम्रो काम गर्नुस् भनेर सुझाव दिएको बताउनुभयो ।

उहाँले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।”

पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उहाँको टिप्पणी थियो ।

आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उहाँले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताउनुभयो । नेकपा ९एमाले०का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताउनुभयो ।

निवास पुगेपछि उहाँलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए । रासस

LIVE TV