१८ श्रावण २०७३, मंगलवार

बैदेशिक रोजगारीका कारण देशमा उल्लेख्य रेमिट्यान्स भित्रिदै आएको छ । त्यसले धेरै नेपालीको जीवनस्तर सुधे्रको पनि छ तर पछिल्लो समय बैदेशिक रोजगारीकै कारण कतिपय परिवारले पूर्वीय सभ्यतामा आधारित नेपाली पारिवारीक संरचना बिखण्डनको शिकार बन्नु परेको तथ्याङ्क फेला परेको छ ।


जिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै पर्ने गरेको तथ्याङ्क सार्वजानिक भएसँगै पारिवारिक बिखण्डनले समाजमा जरो गाडिसकेको पाइएको हो । अदालतमा विभिन्न प्रकारका मुद्धा पर्ने गरेको भएपनि पछिल्लो वर्षहरुमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको छ । गत आर्थिक वर्ष ७२÷७३ मा ३ हजार ७ सय ६० वटा मुद्धा दर्ता भएकोमा ८ सय ३३ वटा सम्बन्ध बिच्छेदका मुद्दा परेको पाइएको छ । जसमध्ये ६ सय ६४ मुद्धा फछ्र्यौट गरिएको अदालतको तथ्याङ्कले देखाउँछ । त्यस्तै अघिल्लो आर्थिक बर्ष ७१÷७२ मा यो बर्षको भन्दा १ सय पाँचबटा बढी ९ सय ३८ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए भने ७७४ वटा मुद्दाको फछ्र्यौट गरिएको थियो ।
यसरी बर्षेनी सम्बन्ध विच्छेदका घटना बढ्नुको मुख्य कारक तत्व वैदेशिक रोजगारी नै रहेको सरोकारवालाहरुको बुझाइ रहेको छ । अभिभावकको भूमिका निर्वाह गरिरहेका पुरुष परिवारबाट बाहिरिंदा र परिवारका अन्य सदस्यहरुले जिम्मेवार नबन्दा समस्या बृद्धि भएको उनिहरुको भनाइ छ । बैदेशिक रोजगारीबाट उत्पन्न पारिवारिक समस्या लिएर प्रहरीमा पुग्नेको संख्याले पनि बैदेशिक रोजगारीले समाजमा निम्तिएको नकारात्मक असरको इंगीत गरेको छ ।
झापा जिल्ला अदालतका प्रमुख न्यायाधिश सुर्दशन पाण्डेका अनुसार सम्बन्ध बिच्छेदका अधिकांश मुद्धाहरु महिलाले दायर गर्ने गरेका छन् । पुरुषले स्थानीय निकाय मार्फत मात्र सम्बन्ध बिच्छेदका लागि अदालत जान पाउने कानुनी ब्यवस्था भएकाले महिला नै सम्बन्ध बिच्छेद गर्न अग्रसर भए जस्तो देखिने गरेको छ । सम्बन्ध विच्छेद पछि अंश पाइन्छ भन्ने गतल सोचका कारण पनि धेरै घरहरु उजाडिन थालेको न्यायाधिश पाण्डेको भनाई छ ।
सम्बन्ध बिच्छेदले निम्त्याउने पारिवारिक बिखण्डनको प्रत्यक्ष असर भने ति परिवारका बालबालिकामा पर्ने गरेको छ ।

LIVE TV