१८ श्रावण २०७३, मंगलवार

लगातारको बर्षाले पर्याप्त मात्रामा कृषिजन्यवस्तु आयात नहुँदा पूर्वको सुनसरीमा अहिले उपभोक्ताहरु दोब्बर मूल्य तिरेर खरिद गर्न बाध्य भएका छन् । करिब दुई साता लामो अविरल बर्षाका कारण सुख्खा कृषिजन्य वस्तुमा भन्दा पनि हरियो सागसब्जीको भाउ दोब्बर बनेको हो ।

sd
लगातारको बर्षाले निम्त्याएको बाढी र पहिरोले गर्दा कृषकहरुले उत्पादन गरेको कृषिजन्यवस्तु बजारमा पुर्याउँन नसक्दा पूर्वको एकमात्र बजार धरानस्थित कृषि उपज बजारमा मूल्य दोब्बर पुगेको कृषि उपज बजार सञ्चालक समितिले जानकारी दिएको छ ।
एक साता अगाडि थोक मूल्यमा २५ देखि २७ रुपैया पर्ने गोलभेंडाको भाउ अहिले बढेर ४५ रुपैयादेखि ५२ रुपैयासम्म पुगेको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । त्यस्तै एक साता अगाडि ५० देखि ६० रुपया पर्ने गाजर १ सय २० देखि १२५ रुपैया, २५ देखि २६ रुपैया पर्ने मुला ३५ देखि ४० रुपैया, ३५ देखि ४० रुपैया पर्ने काउलीको मूल्य अहिले ६० देखि ८० रुपैया पुगेको व्यवस्थापक भट्राईले बताउँनुभयो । समग्रमा सु्ख्खा आइटममा भन्दा पनि हरियो सागसब्जीमा लगातारको बर्षाका कारण दोब्बर मूल्य वृद्धि भएको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । बर्षादका कारण पहिरो र बाढीका कारण जोखिम मोलेर कृषकहरुले कृषिजन्य वस्तु ल्याउनुपर्ने बाध्यता भएकोले कम परिणाममा सब्जी भित्रिएकै कारण यस्तो अवस्था आएको उहाको भनाई छ ।
बर्षाद लागेसंगै सब्जीको आयात निर्यात नै घटेको उहाँको भनाई छ । सहज अवस्थामा १ सय ५० मेट्रिक टन हरियो सब्जी भित्रिने कृषि बजारमा अहिले बन्द, हड्ताल र बर्षादको समयका कारण १ सय मेट्रिक टनमात्र भित्रिने गरेकोले माग धान्न नसक्दा मूल्य अत्याधिक बढेको व्यवस्थापक भट्टराईको भनाई थियो ।
यता खुद्रा व्यापारीले समेत मूल्य बढेर आएको कारण आफूले बढी मूल्यमा सागसब्जी बेच्ने गरेको बताउदै आएका छन् धरान ३ का खुद्रा व्यापारी मनोज श्रेष्ठले बर्षादका समयमा हरियो सब्जीको मूल्य अध्याधिक बढेको बताउनुभयो । यसको प्रमुख कारण बर्षाद नै भएको उहाको भनाई छ ।

सब्जीको मूल्य अत्याधिक बढेसंगै सर्वसाधारण सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । दैनिक उपभोग्य वस्तुको रुपमा रहेको हरियो सागसब्जी एक साता अगाडिको मूल्यभन्दा दोब्बर तिरेर खरिद गर्नुपर्दा गुजारा चलाउदै गाह्रो भएको उपभोक्ताहरुको भनाई छ ।

धरानमा कोशी अञ्चलका पहाडी जिल्ला भोजपुर, धनकुटा, तेह्रथुम, संंंखुवासभा, खोटाङ, उदयपुर, सुनसरी र मोरङका पहाडी जिल्लाबाट सब्जीजन्य पदार्थ भित्रिने गरेको छ । ती तरकारी र सागपातहरु यहाबाट नेपालका विभिन्न स्थान र भारतमा समेत निकासी हुने गरेको छ ।

LIVE TV