१५ श्रावण २०७३, शनिबार

राष्टिय गौरवको आयोजना भन्दै शुरु गरिएको हेटौडा काठमाडौं सुरुङमार्ग निर्माण कार्य अन्यौलमा परेको छ । सन् २०१६ को डिसेम्वरमा सम्पन्न हुने लक्ष्य राखिएको सुरुङमार्ग व्यवस्थापनको ढिलासुस्तीका कारण अन्यौलमा परेको हो । यसले गर्दा स्थानीयबासीको करोडौं रकम के हुने भन्ने समेत प्रश्न उब्जिएकोछ ।


अनुमानित लागत करिब २० अर्ब रुपैयाँ रहेको सुरुङमार्ग चार बर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर अहिले नेपाल पूर्वाधार विकास समितिको व्यवस्थापन परिवर्तन भएसँगै सुरुङमार्ग परियोजना पनि अन्यौलमा परेको हो ।
त्यसो त समितिका नयाँ अध्यक्ष भवन भट्टले छिटोभन्दा छिटो फाइनान्सियल क्लोजर वित्तीय व्यवस्थापन गरेर निर्माण कार्य सुरु गर्ने बताउँनुभएको छ । एक वर्षभित्र फाइनान्सियल क्लोजर गरेर निर्माण कार्य सुरु गर्ने लक्ष्य रहे पनि यसबीचमा देखिएको विवादले निर्माण परियोजना नै अन्यौलमा परेको छ । कतिसम्म भने फाइनान्सियल क्लोजर नहुँदासम्म घरभाडा व्यक्तिगतरुपमा नयाँ अध्यक्षले व्यर्होर्नुपर्ने अवस्था आएको छ ।
सुरुङमार्ग बनेपछि अहिले करिब ६ घन्टाको दूरी रहेको मकवानपुरको औद्योगिक शहर हेटौडा एक घन्टामै पुग्न सकिनेछ । त्यसैले यो सडक बनेपछि इन्धन र समयको बचत हुनुका साथै यसबाट राष्ट्रको वार्षिक करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ ।  यो निजी क्षेत्रबाट बन्न लागेको सबैभन्दा ठूलो परियोजना समेत हो ।  यो काठमाडौँ–कुलेखानी हेटौँडा सुरुङमार्ग ५८ किलोमिटरको रहेको छ भने चार लेनको बाटोसहितको डिजाइन समेत तयार भैसकेको छ ।
सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड एनपिबिसिएलको तीन वर्षको खर्च विवरणअनुसार संकलित रकम ३१ करोड ७७ लाख रुपैयाँमध्ये विभिन्न शीर्षकमा २८ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ । जसअनुसार कम्पनीको खातामा अब दुई करोड १० लाख रुपैयाँमात्र बाँकी छ । कम्पनीले तीन वर्षअघि नेपाली पुँजी र नेपालीकै सीपमा ५८ किमी सुरुङमार्ग निर्माण गर्ने गरी सरकारबाट लाइसेन्स लिएर सर्वसाधारणलाई कम्पनीमा लगानीको आह्वान गरेको थियो ।
्यसबीचमा कम्पनीले मकवानपुर र काठमाडौंका करिब एक हजार दुई सय सर्वसाधारण नागरिकको समेत गरी कुल एक हजार आठ सय जनाबाट उक्त लगानी संकलन गरेको हो । सन् २०१६ मा बन्ने भनिएको सुरुङमार्ग अझैसम्म निर्माण प्रारम्भसमेत नहुँदा शेयर धनी स्थानीयहरु आक्रोसित  भएका छन् ।
रकम बेलैमा सदुपयोग नभएको र कम्पनीले आयोजना सुरु हुन नसक्नुबारे कुनै आधिकारिक जानकारी पनि नगराएकोमा धेरै लगानीकर्ताहरु आक्रोशित भएका हुन्  ।  यता सरकारले भने सुरुङ मार्ग निजी क्षेत्रको आयोजना भएकाले सरकारी तवरबाट कुनै प्राथमिकतामा नरहेको प्रष्ट पारेको छ ।

LIVE TV