१५ श्रावण २०७३, शनिबार

मुलुककै उत्कृष्ट होमस्टे गाउँको रुपमा परिचय बनाएको ग्रामीण पर्यटकीय गाउँ काउलेपानीमा ५ बर्षको अवधिमा ५० हजार पर्यटक भित्रिएका छन् । काउलेपानी पर्यटन विकास समितिको तथ्यांकले सन् २०११ देखि हालसम्म ५० हजार पर्यटकले काउलेपानी भ्रमण गरेको देखाएको हो ।


प्राकृतिक छटाले भरिपूर्ण एवं ऐतिहासिक स्थल गाउँशहर काउलेपानीको होमस्टेलाई सन् २०१४ मा नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएको थियो । यहाँ आउने पर्यटकमध्ये ९८ प्रतिशत आन्तरिक पर्यटक छन् भने २ प्रतिशत मात्र विदेशी पर्यटक रहेको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०११ मा ४ हजार ४ सय ८३, सन् २०१२ मा ५ हजार ९ सय ९९, सन् २०१३ मा ८ हजार ७ सय ८३ जना पर्यटक आएका थिए भने सन् २०१४ मा १२ हजार एक सय ८३, सन् २०१५ मा १५ हजार ३ सय ६९ जना पर्यटक काउलेपानी घुम्न आएका थिए । गुरुङका अनुसार काउलेपानीमा ७५ वटै जिल्लाका आन्तरिक पर्यटक आउने भएता पनि विशेष गरि स्कुल, कलेजका विद्यार्थी धेरै आउने गरेका छन् ।
लमजुङ उद्योग बाणिज्य संघले एक गाउँ एक उत्पादनको कार्यक्रम लागु गरेपछि काउलेपानी गाउँले होमस्टे शुरु गरेको स्थानीय होमस्टे प्रर्वद्धक शिक्षक जगत गुरुङले बताउनुभयो । ऐतिहासिक स्थल गाउँशहर काउलेपानीको होमस्टेलाई सन् २०१४ मा नेपालकै उत्कृष्ट होमस्टे घोषणा गरिएको हो । त्यसपछि काउलेपानीमा स्वदशी तथा विदेशका पर्यटकको आगमनमा वृद्धि भएको स्थानीय होमस्टे संचालक तिलमाया गुरुङ बताउनुहुन्छ । प्राकृतिक सुन्दरता, भौतिक संरचनाको बनौट र धार्मिक आस्थाका दृष्टिले पनि काउलेपानी मन्दिर पुग्न करै लाग्ने एक पटक काउलेपानी पुगेर फर्किएकाहरु बताउँछन् ।
एकरात बस्ने पाहुनाका लागि प्रतिव्यक्ति ९ सय ९० रुपैयाँको प्याकेज तयार गरिएको छ । स्वागत देखि भोलिपल्ट विदाई सम्मको लागि सो प्याकेजमा समावेश छ । ०००

LIVE TV