१४ श्रावण २०७३, शुक्रबार

काठमाडौ राजधानी हो । तर राजधानी भन्दा पनि लाजधानी भन्न सुहाउने धेरै हर्कतहरु यहाँ हेर्न र देख्न पाइन्छ । वर्षामा हिलोमा हेलिनु , हिँउदमा धुलोसंग पौठेजोरी खेल्नु र गर्मीमा रोगहरुको स्वागत गर्ने धेरै सुविधाहरु राजधानीमा सहजै भोग्न पाइन्छ । बर्षा लागेपछि काठमाडौंका धेरै सडकहरु जलमार्ग नै बन्ने गर्छन भने धेरै जसो सडकहरु हिलोले हिड्नै नसक्ने हुन्छन ।


राजधानी आवत जावतको मुख्यद्धार मानिने थानकोट कलंकी सडकखण्ड मर्मत हुन नसक्दा सवारी साधन र यात्रुहरु सास्ती खेप्न बाध्य छन् । त्यसमाथि सडक चौडा बनाउने भन्दै भत्काईएका संरचनाहरु र बर्षा संगै हिलो बनेपछि यो सडक झनै लाजमर्दो बन्दै गएको छ । यो खाल्डाखुल्डीको दृष्य राजधानीकै हो । यो दृष्य प्रमुख नाका थानकोट देखि कलंकी बीचको सडकको हो । यात्रा गर्दा निकै कठिन हुने यो उराठ लाग्दो बाटो घाम लागे असाध्यै धुलो र पानी परेपछि असाध्यै हिलो हुने गर्दछ । यो सडकको अनुहार कहिल्यै फेरिएन । यसै त साँघुरो त्यसमाथि पनि खाल्डा खुल्डी र अब्यबस्थित देखिने यो सडकको दुर्दशा देख्दा राजधानी जोडिने सडक भन्नै सुहाउँदैन । धुलो, हिलो र कच्ची सडकै कारण यो सडकमा सधैंजसो जाम हुने गर्दछ । तर पनि सवारी साधनहरु र यात्रीहरु यात्रा गर्न विवश छन् ।
यो दृष्य हेर्नुहोस् । ढलका लागि भनेर खनिएका यी भ्वाङहरु । यीनिहरुले दुर्घटना निम्त्याउँदैनन् भन्ने के ग्यारेन्टी । झनै सडकको यो हालत । सडकमा हरेक दिन साना सवारी दुर्घटना हुने गरेको स्थानीयबासी बताउँछन् । यहि हिलोमा कतिले त ज्यानै गुमाईसकेका छन् ।
यो सडकमा न त सवारी चालकहरु राम्रो संग यात्रा गर्न सक्छन् न त पैदलयत्रीहरु वारपार गर्न नै । सडक खण्ड अधिकांश ठाउँमा यसैगरी बिग्रेको छ । सवारी चालक, यात्रु र यहाँका स्थानीय सबैले सडकले दिएको सास्ती खेप्न बाध्य छन् ।
पछिल्लो समय सडकलाई फराकिलो बनाउने नाममा वरिपरीका सबै संरचना भत्काईयो तर सडक भने झनै अलपत्र बनेको छ । सडकको मर्मत गर्नुपर्ने निकायले बेवास्ता गरिदिंदा सडकको अबस्था दिनदिनै दयनीय बन्दैछ । सडकमा हरेक वर्ष पिच थपिन्छ तर त्यसले महिना दिन पनि धान्दैन । टालटुले शैलीले सडकको अवस्था दयनीय मात्रै नभइ जोखिमपूर्ण बन्दै गएको छ । । राजधानीका लागि दैनिक हजारौं यात्रु ओहोरदोहोर गर्ने मुख्य मार्ग बनेको यो सडकको यो दयनीय स्थिति कहिले सुध्रिने हो थाहा छैन ।

LIVE TV