१३ श्रावण २०७३, बिहीबार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले नेपाल क्रिकेट संघ क्यानमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने विषयमा विहीवार गहन छलफल भएको छ । काठमाडौंमा रहेका आइसीसी प्रतिनिधि र नेपाली क्रिकेटका सरोकारवालाहरुबीच विद्यमान कानूनी अड्चनहरुबारे समेत छलफल भएको छ ।


नेपाल भ्रमणमा रहेको आइसीसीलेको टोलीले नेपाली क्रिकेटका सरोकारवालासंग छलफल गर्ने क्रममा विहीबार अन्तिम भेटवार्ता गरेको हो । अन्तिम भेटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट सहित निलम्वित क्यानका सरोकारवालासंग भेटवार्ता गरेका थिए । छलफलका क्रममा राजनीतिक प्रतिबद्धता स्पष्ट भए अन्तर्राष्ट्रिय क्रिकेट महासंघ आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध तत्कालै फुकुवा गर्ने सम्भावना बढेको बताइएको छ ।
सोल्टी होटलमा भएको छलफलमा नेपालका तर्फबाट परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, निर्वाचनको प्रक्रियाबाट आएका क्यानका ४ पदाधिकारी अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष दिवाकर घले, महासचिव अशोकनाथ प्याकुरेल र सचिव किरण राणा उपस्थित हुनुहुन्थ्यो । यस्तै परिषद्ले गठन गरेको क्यानका अध्यक्ष रमेश सिलवाल, पूर्व अध्यक्षहरू विनयराज पाण्डे तथा टंक आङ्बुहाङसँग पनि आइसीसी प्रतिनिधिहरुले छलफल गरेका छन् । छलफलमा सहभागी पदाधिकारीका अनुसार आइसिसीका प्रतिनिधिको मुख्य चासो आइसिसीले लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा सहमतिमा कसरी पुग्न सकिन्छ र कानुनी अड्चनहरू कहाँ छन् भन्नेमै केन्द्रित थियो ।
आइसिसीको प्रतिबन्धमा रहेको नेपाल क्रिकेट संघ क्यानको विवाद र पछिल्लो अवस्थाबारे बुझ्न नेपाल आएको ३ सदस्यीय टोलीमा आइसीसीका फाइनान्स तथा डाटा म्यानेजर अमर शेख, आइसिसिका एसिया प्रवन्धक बन्दुला वार्नपुरा र कानुन विभागका अधिकृत पल रहेका छन् । उनीहरुले सदस्य सचिव विष्ट तथा निलम्बित क्यानका पदाधिकारीवीच विहिबार अन्तिम भेट गरेका हुन् ।
विहीबारको छलफलमा नेपालको क्रिकेटको पछिल्लो अवस्थालाई सर्वसहमतिमा मिलाउँदै नया ढंगबाट चुनाव गरी समाधान गुर्नपर्नेमा सहमति नजिक पुगेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टले जानकारी दिनुभयो । पछिल्लो छलफलले नेपाली क्रिकेटमा विद्यमान समस्याको समाधान निस्किने आशा बढेको पनि उहाँले बताउँनुभयो । योसँगै आईसिसिले क्यानमा लगाएको प्रतिबन्धपनि फिर्ता लिन सक्ने सम्भावना बढेको सदस्य सचिव विष्टले जानकारी गराउनुभयो । नेपालको क्रिकेटको अवस्था बुझ्न आएका आईसिसिका टोलि शुक्रबार फर्कनेछन् ।

LIVE TV