१३ श्रावण २०७३, बिहीबार

सुदूरपश्चिमका पहाडी जिल्लामा छाउपडी गोठमुक्त समाजको अभियान चलिरहे पनि धनगढी उपमहानगरपालिकाकै केही वडामा अझै छाउपडी गोठ रहेका छन् । सुविधा सम्पन्न र विकासोन्मुख तर्फ अघि बढिरहेको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ जुगेडा ‘सी’ गाउँमा अझै ९० प्रतिशत घरमा छाउपडी गोठ रहेको पाइएको छ ।

रजश्वला भएको समयमा घर भित्र बस्दा देउता रिसाउने र घरमा शान्ति भंग हुने अन्धविश्वास भएका कारण परिवारले घरभित्र बस्न नदिने गरेको बताइएको छ । खुला झ्याल ढोकायुक्त साँघुरो कोठा भित्र बस्न बाध्य उनीहरुले छाउपडी गोठमा वस्दा विभिन्न किसिमका यातना भोग्नुपरे पनि घरपरिवारको डरले पछिल्लो पुस्ता समेत छाउपडी गोठमा बस्न बाध्य भएको बताएका छन् ।

धनगढी बजारमा दिनैपिच्छे महिला अधिकारका बारेमा आवाजहरु उठ्ने भएपनि धनगढी उपमहानगरपालिका १२ जुगेडामा अझै पनि छाउपडी गोठ हट्न नसक्नु दुखद भएको समाजसेवी चन्द्रबहादुर विकले बताउनुभयो । उहाँले जुगेडा सि गाउँका महिलाहरु छाउपडी भएको बेला अझै असुरक्षित तरिकाले रात काट्न बाध्य रहेको बताउनुभयो ।

धनगढी उपमहानगरपालिका १२ सी गाउँका ७७ बर्षिय हरि विकले छोरी वुहारीलाई घर भित्र राख्ने रहर हुदाँ हुदै पनि परम्परादेखि चलिआएको चलन तोड्न नसकेको बताउदै अन्ध विश्वासमा परेर रजश्वला भएको अवस्थामा छोरी वुहारीलाई घर भित्र राखेमा घरपरिवारमा नराम्रो हुने बताउनुभयो ।

समाजमा एकपछि अर्को परिर्वतन हुदै गएपनि धनगढी उपहमहानगरपालिका १२ सि गाउँमा अझै पनि थुप्रै महिलाहरु अन्धविश्वासमा बाँचिरहेका छन् । घरमा रजश्वला भएको महिलालाई राखेको अवस्थामा देउता रिसाउने, घरमा सर्प आउने, अन्नबाली घट्ने र रजश्वला भएको महिलालाई छोएमा सन्चो नहुने भएकोले छाउपडी गोठ बनाएको चम्फा वादीले बताउनुभयो ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले कोठे कार्यक्रममा आफुहरुलाई सीमित राख्दा यस्ता अन्धविश्वासहरु अझै हट्न सकेको छैन । यसको ज्वालन्त उदाहरण बनेका कैलाली जुगेडा सि गाउँका थुप्रै महिलाहरु रजश्वला भएकै अभियोगमा असुरक्षित रात काट्न बाध्य बनेका छन् ।

LIVE TV