१३ श्रावण २०७३, बिहीबार

राहदानी सँगै तय भएको गन्तब्य
झोला भरी बोकेर गएको सपना
मुटुभरी लुप्त भएको राष्ट्र प्रेम
अब सबै तहसनहस भैसके आमा
किन कि म छोरा हैन तिम्रो
म आत्मा नभएको मुर्दा हुँ।
बस्त्र र आभुषणमा सजिएकी मेरी प्यारी
अब कहिल्यै नगर्नु प्रेम प्रतिक्षा
फाल्तुमा टुक्राउनेछ तिमीलाई
सुमधुर बिगतका यादहरुले
आउँदैन अब यो बदनबाट
प्रेमको बासना
किनकी म प्यारा हैन तिम्रो
म धड्कन नभएको मुर्दा हुँ।
म आफैँ गएँ खुशी किन्न
रगत पसिना रित्तिँदा पनि
कुनै बजारमा किन्न सकिन
मेरो सन्ततिको लागी खुशी
अब तस्बिर समातेर
बाबा भन्दै नचिच्याएस बाबु
म सँग तिमी निदाउने काख छैन
किनकी म पिता हैन तिम्रो
म काख नभएको मुर्दा हुँ।
ए मेरा बालसखा हो
अब भुत बनिसक्यो हाम्रो दोस्ती
सुख दुखमा काँध साट्न सक्दिन
सँगै देउसी रोधी मेला धाउन
सँगै चौतारिमा बाँसुरी बजाउन
म सक्दै सक्दिन
किनकी म साथी हैन तिम्रो
म रहर नभएको मुर्दा हुँ।
किन रुन्छौ छिमेकी काका
तिमीलाइ बाउसे र हली अभाब होला
कोदाली त्यागेर पैसा टिप्न जाँदा
त्यही पैसाको बोटको बाकसमा
फिर्ता पठाइदिए जन्मभूमि
तर पनि कोही प्रफुल्लित छैनौ
किनकी म अब खेत खन्दिन
म तागत नभएको मुर्दा हुँ।
केही हदसम्म दुखी छ सरकार
रेमिट्यान्सको गिरावटले
दिएनौ पढ्न हातमुख जोड्न दिएनौ
बेचिदियौ बिदेशी मुद्रा मा मलाइ
नभएसी जीबन किन पठायौ जहाज
म राष्ट्रप्रेमी युवक हैन
म राष्ट्रप्रेम नभएको मुर्दा हुँ।
रित्तै आएँ बाकसमा
केही ल्याउन सकिन
आमालाई साडी बाबालाई घडी
न सकेँ प्यारीलाई श्रृङ्गार
अनि छोरोलाई खेलौना
न हुन्छु असारको हली
न रेमिट्यान्स बढाउने नेपाली
त्यसैले नझारी आँशु
बनाईदिनु खरानी यो देह को
किनकी अब म कोही हैन कसैको
म दुर्गन्ध फैलाउने मुर्दा हुँ।।।।

 

  • साधना लामिछाने

LIVE TV