१३ श्रावण २०७३, बिहीबार

पछिल्लो समय अमेरिकामा राष्ट्रपति निर्वाचनको ज्वरो ह्वात्तै बढेको छ । र, यो अभियानमा चर्चामा आएकी छिन् अहिलेकी प्रथम महिला मिसेल ओबामा । उनी चर्चामा हुनुको कारण हो– भाषण । सोमबार साँझ उनले डेमोक्रेटिक पार्टीको अधिवेशनमा दिएको भाषण मात्र होइन, आठ वर्षअघि पति बाराकलाई समर्थन गर्दै गरेको भाषण पनि अहिले चर्चामा छ । त्यो आठ वर्षअघिको भाषण चर्चामा हुनुको कारण हो– रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानीले त्यसका अंश चोरेको आरोप लाग्नु । आठ वर्षअघि पति बाराकको समर्थन गर्दै गरेको त्यो भाषणजस्तै सोमबार मिसेलले गरेको भाषण पनि चर्चामा रह्यो । तर, यसपटक उनले आठ वर्षअघि आफ्नै श्रीमान्सँग प्रतिस्पर्धा गरेकी हिलारीको समर्थन गर्दै भाषण गरेकी हुन् । आजको मध्यपृष्ठमा त्यही भाषणको अनौपचारिक अनुवाद :
यसअघि डेमोक्रेटिक पार्टीको महाधिवेशनमा मैले मेरा श्रीमान् किन अमेरिकाको राष्ट्रपति हुन आवश्यक छ भनेर भाषण गरेँ । त्यसरी भाषण गरेको आठ वर्ष बितिसकेछ । मलाई यति छिटो आठ वर्ष बित्यो भन्ने विश्वास गर्न गाह्रो भइरहेको छ ।
तपाईंहरूलाई सम्झना होला, त्यतिवेला मैले उनको चरित्र र दृढ विश्वास, उनको शालीनता र अनुग्रहबारे बताएकी थिएँ । मैले त्यतिवेला भनेजस्तै अहिले हामी ह्वाइट हाउसमा दैनिक यी लक्षणसहित देशको सेवा गरिरहेका छौँ ।
आठ वर्षअघि नै मैले छोरीहरूबारे पनि बताएकी थिएँ । उनीहरू हाम्रा मुटुका पनि मुटु हुन् भनेकी थिएँ, हाम्रो विश्वका केन्द्र हुन् भनेकी थिएँ । र, हामीले ह्वाइट हाउसमा बिताएका यी वर्षमा चुलबुले ती साना नानीहरू जिम्मेवार युवा महिलामा रूपान्तरण भएको हेर्ने खुसी पायौँ ।
हिउँदका चिसा बिहानमा केवल सात र दश वर्षका हाम्रा छोरीहरू बन्दुक बोकेका बलिष्ठहरूको घेराबन्दीमा गाडीमा चढेको दृश्य म कहिल्यै बिर्सन्नँ । जब म गाडीका सिसाबाट बाहिर हेरिरहेका साना अनुहार देख्थेँ, मैले सोच्न सक्ने एउटै विषय हुन्थ्यो, ‘हामीले के गरेका छौँ ?’ किनकि, त्यस क्षण मैले के महसुस गरेँ भने ह्वाइट हाउसमा हामीले बिताउने समयमा यी के बन्लान् भन्ने आधार तय हुनेछ र यो अनुभवलाई हामीले कसरी व्यवस्थापन गर्नेछौँ भन्ने प्रश्नले उनीहरूलाई या त राम्रो बनाउने थियो अथवा बिगारिदिने थियो ।
बाराक र मैले हरेक दिने उनीहरूलाई कसरी दिशानिर्देश गर्ने र यो असामान्य जीवनका चुनौतीबाट हाम्रा नानीहरूलाई कसरी बचाउने भनेर सोच्थ्यौँ । हामी उनका बाबुको नागरिकताको बारेमा होस् अथवा उनको आस्थाका बारेमा प्रश्न गर्नेलाई बेवास्ता गर भनेर प्रेरित गथ्र्यौँ । हामी उनीहरूलाई कसरी टिभीमा आउने सार्वजनिक व्यक्तिले प्रयोग गर्ने घृणायुक्त भाषाले यो देशको भावनाको प्रतिनिधित्व गर्दैन भनेर सम्झाउँथ्यौँ भन्ने पनि यस घडीमा स्मरण गरिरहेकी छु । जब कोही क्रूर हुन्छ अथवा तर्साउँछ भने हामी उसको स्तरमा गिर्नुहुँदैन, बरु झन् माथि उठ्न कोसिस गर्नुपर्छ भनेर प्रेरित गर्ने गरेको पनि सम्झना भइरहेको छ ।
हामीलाई थाहा छ, हामीले उच्चारण गर्ने हरेक शब्द, हामीले गर्ने हरेक कर्म हाम्रा नानीहरूले हेरिरहेका छन् । अभिभावकका रूपमा हामी उनीहरूका सबैभन्दा महत्वपूर्ण आदर्शका पात्र हौँ । र, मलाई यो पनि भन्न दिनुस्, बाराक र म हाम्रा राष्ट्रपति र प्रथम महिलाको दायित्वलाई उही ढंगले हेर्छौँ, किनकि हामीलाई थाहा छ हाम्रा शब्द र कर्मले हाम्रा नानीहरूलाई मात्र होइन, यो देशका सबै बालबालिकालाई असर पर्नेछ । ती नानीहरू जो ‘मैले तपाईंंलाई टिभीमा देखेको थिएँ नि’ वा ‘मैले स्कुलका लागि तपाईंंबारे रिपोर्ट लेखेँ’ भन्छन् । म एउटा काला जातिको सानो बच्चोलाई सम्झिरहेकी छु, जसले मेरो श्रीमान्लाई आशापूर्ण तरिकाले हेरेको थियो र आश्चर्य व्यक्त गरेको थियो, ‘के मेरो कपाल पनि तपाईंको जस्तै छ ?’
यो नोभेम्बरमा जब हामी निर्वाचनमा जानेछौँ, हामी यही कुराको निर्णय गर्दै छौँ । हामी डेमोक्रेट वा रिपब्लिकन, बाम वा दक्षिण छनोट गरिरहेका छैनौँ । यो निर्वाचन र हरेक निर्वाचन हाम्रा नानीहरूको आगामी चार वा आठ वर्षको जीवनको आकार बनाउन कसले सत्ता लिनेछ भन्ने निर्णय गर्ने अवसर हो । र, यो निर्वाचनमा एकजना मात्र व्यक्ति छ, जो यो दायित्व निर्वाह गर्न सक्छ, जो अमेरिकाको राष्ट्रपति हुन साँच्चिकै योग्य छ । ती हुन्, हाम्रा मित्र हिलारी क्लिन्टन ।
म हिलारीलाई किन विश्वास गर्छु भने मैले हाम्रो राष्ट्रका नानीबाबुहरूका लागि उनको आजीवन समर्पण देखेकी छु । हाम्रा धेरै नानीबाबुलाई एउटा च्याम्पियनको खाँचो छ, जो उपद्रवीहरूबाट बच्न लामो बाटो हिँड्छन्, ती किशोर–किशोरी जो कसरी कलेज पढ्ने होला भनेर चिन्तित हुन्छन् । ती नानीबाबु जसका आमाबाबु एक शब्द अंग्रेजी बोल्न सक्दैनन्, तर सुखद जीवनको सपना देख्छन् र ती नानाीबाबु हामी को हौँ र हामी के बन्न सक्छौँ भन्ने निश्चित गर्न हामीतिर हेर्छन् ।
हिलारीले वास्तवमा तिनीहरूको जीवनमा फरकपन ल्याउन दशकौँसम्म अथक प्रयत्न गरेकी छिन् । युवा वकिल हुँदा उनले अपांगता भएका बालबालिकाको पक्षमा वकालत गरेकी थिइन् । प्रथम महिला हुँदा बालबालिका स्वास्थ्यका लागि संघर्ष गरिन् र सिनेटमा हुँदा गुणस्तर शिशु स्याहारका लागि लडिन् ।
आठ वर्षअघि यिनी पार्टीबाट मनोनीत हुन सकिनन्, तैपनि उनी न आक्रोशित भइन्, न निराश । हिलारीले मैदान छाडेर घर फर्किनन् । एउटा जनसेवकका रूपमा हिलारीलाई थाहा छ, यो कर्म उनको इच्छा र निराशाभन्दा निकै ठूलो छ । त्यसकारण, एकपटक फेरि उनी विदेशमन्त्रीको दायित्व निर्वाह गर्न गर्वका साथ अघि बढ्न्,ि हाम्रा नानीहरूलाई सुरक्षित राख्न विश्वभरि घुमिन् ।
हेर्नुस्, यो काम निकै कठिन छ, सार्वजनिक सेवाको मूल्य असाध्यै उच्च छ भनेर पछि हट्न हिलारीलाई धेरै अवसर प्राप्त भएको थियो । तर, उनले त्यसो गरिनन्, बाबजुद मानिसहरू उनले बोलेको र हाँसेको पनि टिप्पणी गर्थे, गर्छन् । हिलारीका बारेमा मैले सबैभन्दा प्रशंसा गर्ने उनी दबाबमा पनि कहिल्यै आत्तिन्नन् । उनी कहिल्यै सजिलो बाटो समात्दिनन् । र, हिलारी क्लिन्टनले आफ्नो जीवनमा कहिल्यै हार मानेकी छैनन् ।
जब म मेरा छोरीहरू र सबै नानीबाबुका लागि कस्तो राष्ट्रपति आवश्यक पर्ला भनेर सोच्छु, हिलारीलाई उत्तम देख्छु । म त्यस्तो उम्मेदवार चाहन्छु, जो दृढ रहन सामथ्र्य भएको प्रमाणित होस्, जसलाई आफ्नो कामका बारेमा जानकारी होस् र त्यसलाई गम्भीरतापूर्वक लियोस् । जसले राष्ट्रपतिले सामना गर्ने हरेक विषय श्यामश्वेत हुँदैन र तिनलाई एक सय ४० अक्षरमा सुल्झाउन सकिन्न भन्ने बुझोस् । किनकि, जब तपाईंको हातमा परमाणु शक्ति हुन्छ र तपाईंको कमान्डमा सैन्य शक्तिको कमान्ड रहन्छ, तपाईं हतारमा कुनै फैसला गर्न सक्नुहुन्न । तपाईं स्थिर हुन आवश्यक छ, नापजाँच गर्न सक्नुपर्छ र पूर्ण रूपमा जानकार हुनुपर्छ ।
म त्यस्तो राष्ट्रपति चाहन्छु, जोसँग सार्वजनिक सेवा गरेको रेकर्ड होस् । जसको जीवनले हामी केवल हाम्रा प्रसिद्धि र भाग्यको पछाडि कुद्दैनौँ भनेर देखाओस् । जसले सबैले सफलता हासिल गर्ने अवसरका लागि लड्न सिकाओस् ।
म त्यस्तो राष्ट्रपति चाहन्छु, जसले यो देशमा बस्ने सबैको जीवनको अर्थ छ भनेर हाम्रा नानीबाबुहरूलाई सिकाओस् । जसले हाम्रा पुर्खाहरूले वर्षौँअघि प्रस्तुत गरेको दृष्टिकोणमा सच्चा रूपमा विश्वास गरोस् । र, यो साँझ म यहाँ किन उपस्थिति भएको छु भने मलाई थाहा छ, हिलारी क्लिन्टन यस्तै राष्ट्रपति बन्न सक्छिन् । त्यसकारण, यो निर्वाचनमा म उनीसँगै छु ।
त्यसकारण, यो निर्वाचनमा सबै राम्रो हुनेछ भन्दै त्यसै बस्न सक्दैनौँ । हामीले आठ वर्षअघि र चार वर्षअघि गरेजस्तै हरेक ढोका ढकढक्याउनुपर्छ । हामीले सबैलाई मतदानमा भाग लिन प्रेरित गर्नुपर्छ । हामीले हाम्रा उत्साह र सामथ्र्य एवं यो राष्ट्रप्रतिको प्रेम हिलारी क्लिन्टनलाई अमेरिकाको राष्ट्रपति निर्वाचित गर्न उपयोग गर्नुपर्छ ।

6221ade967e14742120980d6a156c896
पत्रकारको प्रशंसै–प्रशंसा
मिसेल ओबामाले डेमोक्रेटिक पार्टीको अधिवेशनमा भाषण सुरु मात्र के गरेकी थिइन्, सामाजिक सञ्जाल ट्विटरमा उनीबारे हजारौँ ट्विट लेखिन थाले । मिसेलले भाषणमा आठ वर्षअघि पतिलाई समर्थन गर्दै गरेको भाषणको प्रसंग मात्र निकालिनन्, छोरीहरूलाई पनि सम्झिइन् । आठ वर्षअघि पनि उनले छोरीहरूबारे भाषणमा भावनात्मक सम्बोधन गरेकी थिइन् । उनले यसपटक पनि छोरीहरूको प्रसंग निकालेपछि ट्विटरमा उनीबारे लेख्न थालियो ।
त्यति मात्र होइन, उनले भाषणमा भनिन्, ‘कहिल्यै पनि कसैलाई भन्न नदिनुस् नि अमेरिका महान् छैन, यो देश त विश्वको महानतम देश हो ।’ त्यस्तै, राष्ट्रपतिको रेसमा रहेका रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पप्रति पनि उनले व्यंग्य गरिन् । उनको नामै नलिई भाषणमा मिसेलले भनिन्, ‘यो देशका राष्ट्रपतिले एक सय ४० अक्षरमा फैसला लिन सक्दैनन् ।’ ट्रम्पको ट्विटरलाई गरिएको व्यंग्य थियो यो ।
त्यही ट्विटरमा भने मिसेलको व्यापक प्रशंसा गरियो । कतिसम्म भने सयौँले भाषणकै कारण मिसेल अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा उठ्ने हो भने निर्वाचन जित्ने दाबी पनि गरे । मिसेलको भाषणको प्रशंसामा हफिंटन पोस्टका सम्पादक हार्वर्ड फाइनमेनले ट्विट गरे, ‘हिलारी क्लिन्टन उम्मेदवार बनेपछि सबैभन्दा ठूलो सहयोग यही भाषणले पु¥याएको छ ।’ त्यस्तै, सिएनएनका पत्रकार डन लेमनले लेखे, ‘मिसेलको भाषण शक्तिशाली छ, आँसु आयो ।’ वासिंटन पोस्टका पत्रकार इजे डियोनले लेखे, ‘मिसेलको भाषण टर्निङ प्वाइन्ट हो । डेमोक्रेटिक पार्टीको माहोल नै अब फेरिएको छ ।’ -नयाँ पत्रिका

LIVE TV