१२ श्रावण २०७३, बुधबार

ठगी मुद्दाका फरार अभियुक्त ललितपुर इमाडोल गाविस–९ का राजनकुमार केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले ललितपुर इमाडोलबाट आज पक्राउ गरेको छ ।

केसीसमेत भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७२ माघ ३ गतेको फैसलाले केसीलाई छ महिना कैद र रु १२ लाख जरिवाना हुने फैसला गरेको थियो ।

केसीलगायतले अनिता बुढाथोकीलाई काठमाडौं महानगरपालिका–३५ कोटेश्वरस्थित कित्ता नम्बर १९४ रहेको तीन रोपनी क्षेत्रफल जग्गाको प्रतिआना रु १५ लाखका दरले खरिद गर्न बैना गरेका छौं, सबै रकम जुटाउन नसकिने भएकाले तपाइँ पनि लगानी गर्नुहोस भनी बैना गरेको नक्कली कागजात देखाई २०७१ कात्तिक १९ मा अनिताबाट रु १२ लाख लिएको र पछि उक्त रकम फिर्ता माग्दा खातामा रकम नभएको रु १५ लाखको चेक दिएर फरार भएका थिए ।

केसीलाई काठमाडौं जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ । रासस

LIVE TV