१२ श्रावण २०७३, बुधबार

सुनसरी जिल्लाका बाढीको डुबानमा परेका अमाहीबेलाहा, अमडुवा र चिमडी गाविसका डुबान पीडितलाई आज जिल्ला दैवी प्रकोप उद्धार समितिको अगुवाइमा आपत्कालीन राहत वितरण गरिएको छ ।

सुनसरी जिल्लाका प्रजिअ मोहनबहादुर चापागार्इं, प्रहरी उपरीक्षक पोषराज पोख्रेललगायतको टोलीले बाढी प्रभावित क्षेत्रमा गएर चिउरा, भुजा, चाउचाउ र बिस्कुटलगायतका खाद्य सामग्री वितरण गरेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।

साथै जिल्ला दैवी प्रकोप उद्धार समितिले पीडितको बसोबासको अवस्था र वर्तमान वस्तुस्थितिको समेत अवलोकन गरेको तथा उनीहरुलाई अरु थप राहत सामग्री उपलब्ध गराउने विषयमा छलफल गरी मद्दत जुटाउन विभिन्न सङ्घसंस्थालाई अपिल गर्ने कार्य भइरहेको बताइएको छ ।
बीस घर पूर्ण विस्थापित
यस जिल्लामा घर भत्किएर २० घर पूर्णरुपमा विस्थापित भएका छन् । अविरल वर्षा भएपछि बस्ती डुबानमा पर्ने जिल्लाका विभिन्न खोलामा आएको बाढी मानव बस्तीमा पस्दा एक हजार ४६१ व्यक्ति डुबानको चपेटामा परेको प्रजिअ चापागाईंले जानकारी दिनुभयो ।

सुरक्षा निकाय तथा स्थानीय बाढी प्रभावित क्षेत्रका पीडितका अनुसार बाढीमा परी सबैभन्दा बढी अमडुवा गाविसमा ११३ घर डुबानमा छन् भने तनमुना गाविसमा ५७ घर र छिटाहा गाविसमा ४६ घर विस्थापित भएका छन् । यसबाहेक दुहवीभलुवा नपामा १७, धरान उपमहानगरपालिकामा १५, अमाहीबेलाहा गाविसमा १७, इटहरी उपमहानगरपालिकामा दुई, रामनगरभुटाहामा नौ, राजगञ्ज सिनुवारीमा पाँच, चिमडी गाविसमा तीन र वसन्तपुर गाविसमा एक घर डुबानमा परेका प्रजिअ चापागार्इंले बताउनुभयो ।

घर कार्यालय वा अन्य सार्वजनिक क्षेत्र विद्यालय, स्वास्थ्य चौकी आदिमा पसेको बाढीले लाखाँैको धनको नोक्सानी भएको बताइएको छ । वर्षा रोकिएसँगै सप्तकोसी नदीमा आउने बाढीमा पनि कमी आएको छ । आज दिउँसो २ बजेको समयमा सप्तकोसी नदीमा दुई लाख ४५ हजार ६२० क्युसेक प्रतिसेकेण्ड बाढीको बहाब मापन भएको र ब्यारेजका ३३ ढोका खोलिएका छन् । रासस

LIVE TV