११ श्रावण २०७३, मंगलवार

जितबहादुर ज्ञवालीले मरेको राँगो नागढुङ्गापछाडि रहेको चेकपोस्टमा खाल्डो खनी गाड्न लाग्दा पिटाइ खाए । जितबहादुर पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु क्वारेन्टाइन नागढुङ्गा चेकपोस्टमा कार्यरत कर्मचारी हुन् ।

कर्तव्यपालनका क्रममा स्थानीयवासीको पिटाइले उनलाई कुनै असर परेन, उल्टै स्थानीयवासीलाई सम्झाइबुझाइ एकपटकलाई गाड्न दिन अनुमति मागे । अन्ततः एकपटकलाई उनको जित भयो । स्थानीयवासीले उहाँलाई चेतावनी दिँदै अर्कापल्टबाट छुट्टै पशु चिहान बनाई दाहसंस्कार गर्न सुझाव दिए ।

जितबहादुरले पटकपटक पशुपन्छी विकास मन्त्रालयमा मरेका पशुपन्छीको दाहसंस्कार गर्न प्रत्येक क्वारेन्टाइन चेकपोस्टमा पशुचिहान निर्माण गर्नुपर्ने सुझाव दिए । तर कार्यान्वयन हुन सकेन । अन्ततः ढुवानीका क्रममा मरेका पशुपन्छीको खुलेआम बिक्री वितरण बढेपछि उक्त पशुपन्छी नष्ट गर्नु अपरिहार्य भएकाले पशुघाट निर्माण गर्न सरकारलाई प्रतिवेदनमार्फत सुझाव दिइएको छ ।

प्रतिवेदनले राजधानीमा स्तरीय मासु बधशाला नभएका कारण काठमाडौँवासीले स्वस्थ्यकर मासु खान नपाएको उल्लेख छ ।

पशुपन्छी विकास मन्त्रालयमा प्रतिवेदन पेस गर्दै वरिष्ठ पशु चिकित्सक परशुराम भुसालले पशु ढुवानी मापदण्ड, २०६४ अनुसार पशुपन्छी ओसारपसार नभएको जानकारी दिनुभयो । ढुवानी मापदण्ड २०६४ मा सिङ, पुच्छर र घाँटीमा सास फेर्न गाह्रो हुने गरी पशुको ओसारपसार गर्न नहुने उल्लेख छ ।

पशुपन्छी विकास मन्त्रालयले वरिष्ठ पशु चिकित्सक भुसालको संयोजकत्वमा चार सदस्य नागढुङ्गा पशु ढुवानी अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । टोलीले नागढुङ्गा नाकाबाट राजधानी दैनिक भित्रने तीन हजार ५०० देखि तीन हजार ७०० सम्म ढुवानीका साधनमध्ये ११६ वटाले पशुपन्छी ओसार–पसार गरेको तथ्याङ्क सार्वजनिक गरेको थियो । पशुपन्छीको अधिकांश ओसारपसार रातको समयमा हुने गर्छन् ।

यही असार २ देखि असार १३ गतेसम्म जम्मा ११ दिन लगातार गरिएको अनुगमनमा सो नाकाबाट ६४५ वटा मरेका कुखुरा र खान अयोग्य एक राँगो भेटिएको थियो । मरेका उक्त कुखुराको यथोचित व्यवस्थापन गर्न आवश्यक नाका नाकामा पशु चिहान निर्माण गर्नुपर्ने ठहर गरेको छ । नागढुङ्गा नाका भएर राजधानी भित्रने ढुवानीको सङ्ख्या ७० प्रतिशत रहेको छ ।

मरेका पशु, पशुजन्य पदार्थ, ओसार–पसार गर्दै गरेको क्रममा क्वालिटी तथा आसापुरी ह्याचरीलाई जरिवाना गरिएको भए पनि अस्वस्थ जनावर र पशुपन्छी ओसारपसार कार्य रोकिएको छैन ।

आर्थिक वर्ष २०७१÷७२ मा ११ वटा मरेका राँगाभैँसी, २६ व्यक्तिले प्रमाणपत्र बिना पशुपन्छीको ओसारपसार, आन्तरिक नाकामा दरपीठ नगरी १० र अवैध दुवानी गर्ने छ जनालाई कारबाही गरिएको थियो । आव २०७२÷७३ मा ५९ पटक नियम विपरीत ढुवानी गरिएका पशुपन्छी वाहकलाई कारबाही गरिएको छ ।

पशुपन्छी विकास मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले तीन हप्ताभित्र नेपालका सबै क्षेत्रमा रहेका पशु क्वारेन्टाइन केन्द्रको यथास्थिति पेस गर्न सम्बन्धित कर्मचारीलाई आजै निर्देशन दिएको बताउनुभयो ।

राजधानीमा झन्डै ५० लाख मानिसको बसोबास छ । यहाँ कुखुराको मासु २५० मेट्रिक टन, विभिन्न जमेको मासु झन्डै दुई मेट्रिक टन, खसीको मासु २० मेट्रिक टन र राँगाभैँसी ३० मेट्रिक टन र अन्य १५ मेट्रिक टन मासु खपत हुने गर्छ । अस्वस्थकर मासु खानाले मानिसको शरीरमा ७५ प्रतिशत रोग लाग्छ । रासस

LIVE TV