१० श्रावण २०७३, सोमबार

विराटनगर,  साउन । नेपाली काँग्रेस नगर समिति विराटनगरले नगरको डुबान समस्या तत्काल समाधान गर्न विराटनगर उपमहानगरपालिकासँग माग गरेको छ ।

सो पार्टीका नगरसभापति भीम पराजुलीको नेतृत्वमा आइतबार उपमहानगरपालिका पुगेको एक टोलीले उपमहानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रधानसमक्ष सो माग गर्दा प्रधानले समस्या समाधान गर्ने आश्वासन दिएको बताइएको छ ।

पटक पटक डुबान समस्या समाधानका लागि काम थाल्न आग्रह गरे पनि उपमहानगरपालिकाले कुनै वास्ता नगरेकाले अब आन्दोलनमै उत्रनु पर्ने बाध्यता भएको पराजुलीले बताउनुभयो ।

Nepali-congress-750

निरन्तर रुपमा जारी वर्षाले विराटनगरको २२ वटै वडामा डुबानको समस्या देखिएको छ ।

डुबानका कारण नगरवासीले धेरै कष्ट झेल्नु परे पनि उपमहानगरपालिकाले समस्या समाधानमा कुनै ध्यान नदिएको काँग्रेसको ठहर छ ।

बाढीबाट प्रभावित परिवारलाई राहत वितरण

एक सातादेखि निरन्तर रुपमा जारी वर्षाका कारण मोरङमा विस्थापित परिवार ५०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

गोविन्दपुर–८ मा आइतबार बक्राहा खोलाको पानी पस्दा ९५ परिवार र सोही खोलाको पानी डाइनिया–९मा पस्दा ३०० परिवार विस्थापित भएको रेडक्रस मोरङले जनाएको छ ।

यस जिल्लाका हसन्दह, मधुमल्ला, विराटनगरको बकरी, कटहरि, सारोभाग, बनिगामा, बाहुनी, बबियाविर्तालगायत अन्य ठाउँसमेत गरी मोरङमा ५०० भन्दा बढी परिवार विस्थापित भएको हो ।

मोरङमा वर्षाका विस्थापित भएका परिवारलाई आइतबार पनि रेडक्रस मोरङले ७२ थान त्रिपालका साथै खाद्यान्न सामग्री वितरण गरेको छ ।

सोअनुरुप बबियाविर्ता गाविसका विस्थापित ३५ परिवारमध्ये पूर्णरुपले क्षति भएका १७ परिवारलाई त्रिपाल वितरण गरिएको छ र ३५ परिवारालाई खाद्यान्न सामग्रीमा च्युरा, भुजिया वितरण गरिएको रेडक्रस मोरङको सिनियर अधिकृत कमल कोइरालाले जानकारी गराउनुभयो ।

यस्तै विराटनगरको बकरीका १२ परिवार, बनिगामाका चार परिवार, बाहुनीमा सात र केरौनका तीन परिवार र सिजुवाका १७ परिवारलाई त्रिपाल वितरण गरिएको हो ।

यसका साथै हसन्दहका विस्थापित २०० परिवारका साथै प्रभावित मधुमल्ला, बाहुनी, कैरोनलगायतका बाढीबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । रासस

LIVE TV