९ श्रावण २०७३, आईतवार

रहर र लहडको भरमा सबैजसो जिल्लामा धेरै नगरपालिका घोषणा भए । पूर्वी पहाडी दुर्गम जिल्ला भोजपुरमा पनि मापदण्ड पुग्दानपुग्दै राजनीतिक पहुँचका आधारमा गाविसहरुलाई गाभेर नगरपालिका घोषणा गरियो । नगरपालिका घोषणासँगै आमजनतामा एकाएक विकासको उत्साह जाग्यो तर आशा गरेजति विकासले गति लिन नसकेपछि उत्साहित भोजपुरे निराश बन्न थालेका छन् ।


६३ गाविस रहेको भोजपुरमा नगरपालिकाको संरचना अनुसार दुई नगरपालिका घोषणा भएका छन् भने बाँकी ५४ गाविस रहेका छन् । जिल्ला सदरमुकाम रहेको भोजपुर गाविस र छिमेकी गाविसहरु टक्सार, भैसींपंखा र बोखिम गाविसलाई गाभेर सरकारले २०७२ बैशाख २५ मा भोजपुर नगरपालिका घोषणा गरेको थियो । यस्तै उत्तरी मुलपानी, क्यौरेनीपानी, तुंगेछा, खार्ताम्छा र किमालुङ्ग  गाविसलाई गाभेर षडानन्द नगरपालिका घोषणा गरेको दुई बर्ष वितेको छ । नवघोषित नगरपालिकाका नगरबासीले करको दर बढेपनि गाविसकै संरचना भन्दा बढी सेवासुविधा र विकासको अनुभव गर्न पाएका छैनन् । नगरपालिका हुनु अघि भोजपुर नगरपालिकाका साविकका ४ गाविसले राखेको तथ्याङ्कबाट बार्षिक १० लाख जति कर उठ्ने गरेको थियो । नगरपालिका बनेपछि भोजपुर नगरपालिकाले यस आर्थिकबर्षमा ७० लाख बराबरको कर उठाएको बताएको छ । यसरी करको दर ह्वात्तै बढेको छ तर सामान्य टहरा बनाउन समेत नक्सा पास गर्नुपर्ने लगायतका झन्झिटला प्रक्रिया थपिएका कारण नगरवासीले विकास र विस्तारको साटो सास्ती खेप्नुपरेको छ ।
गुरुयोजना विना एकैचोटी नगरपालिका घोषणा गरेकै कारण भौतिक पुर्वाधार विस्तार र सेवा प्रवाहमा भनेजति सेवा दिन नसकिरहेको भोजपुर नगरपालिकाका सुचना अधिकारी राजनकुमार श्रेष्ठले  बताएका छन् ।
आफैले रहरै रहरमा नगरपालिका घोषणा गरेकोमा जिल्लाका राजनितिक दलहरुले स्वीकार गरेका छन् । भौगोलिक विकटता र न्युनतम मापदण्ड समेत नपुग्ने गाविसहरुलाई समेटेर नगरपालिका घोषणा गरेकै कारण आशा गरेको विकासले गति पाउन नसकेको बताएका छन् ।

LIVE TV